![राष्ट्र बैंकले तान्यो १४१ खर्ब, कर्जामा छैन आकर्षण](https://himalpress.com/wp-content/uploads/2024/08/NRB-1.jpg)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालू आव २०८१/८२ को पछिल्लो ६ महिनामा १४१ खर्ब ८० करोड रुपैयाँ तरलता खिचेको छ। कर्जा प्रवाह नभएका कारण राष्ट्र बैंकले यति धेरै रकम तरलता खिचेको हो।
माघ तेस्रो सातामा आइपुग्दा राष्ट्र बैंकले साढे दुई खर्बभन्दा बढी आर्थिक तरलता तानेको छ।
बैंकको तथ्यांकअनुसार ६ महिनामा निक्षेप संकलन बोलकबोलमार्फत १४ खर्ब ८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२५ खर्ब १४ अर्ब १५ करोड गरी कुल १४ हजार अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता खिचेको हो। विभिन्न बोलकबोलमार्फत ६ महिनामा निक्षेप संकलनका लागि यो रकम खिचेको राष्ट्र बैंकले जनाएको छ।
बैंकमा पैसा संकलन भए पनि कर्जा प्रवाहमा आकर्षण नबढेपछि आर्थिक तरलता खिच्न पैसा तान्नुपरेको राष्ट्र बैंकका प्रवक्ता रामुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुुसार राष्ट्र बैंकले आर्थिक तरलता व्यवस्थापनका लागि ६ महिनामा १४१ खर्ब ८० करोड तानेको छ। यो रकम तान्नुको मुख्य उद्देश्य आर्थिक तरलता व्यवस्थापन भएको उनले बताए। ‘कर्जा विस्तार भइरहे पनि आकर्षण भएको छैन। जसका कारण आर्थिक तरलता व्यवस्थापन गर्न आवश्यक भयो’, उनले भने।
बैंकहरुमा पर्याप्त तरलता भए पनि कर्जा प्रवाह नभएका कारण राष्ट्र बैंकले नयाँ योजना ल्याउन अर्थ मन्त्रालयसँग छलफल गरिरहेको प्रवक्ता पौडेल बताउँछन्। गत वर्षको तुलनामा चालु आर्थिकको ६ महिनामा बैंकिङ प्रणालीमा २०६.५ प्रतिशतले लगानीयोग्य रकम बढेको राष्ट्र बैंकको तथ्यांक छ।
चालु आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरूले ६० अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन्। माघ पहिलो साता सकिँदासम्म यो रकम बढेर ५४ खर्ब १० अर्ब पुगेको छ। कर्जा विस्तार करिब ६० अर्ब हाराहारी गर्ने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल बैंकर्स संघ (एनबीए) संघका अध्यक्ष सन्तोष कोइरालाले कर्जाको वृद्धि सोचेअनुरूप नभएका कारण तरलता पर्याप्त भएको जानकारी दिए। निक्षेप बढे पनि कर्जा प्रवाहमा भने सन्तोषजनक प्रगति नदेखिएको उनले बताए। ‘कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप खिचिरहेको छ। सस्तो ब्याजदरमा बैंकहरू राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य भइरहेका छन्’, उनले भने।
राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल गर्दै आएको छ। यसमा निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन्।
कर्जा र लगानीमा व्यवसायी आकर्षण नहुँदा गैरबैंकिङ सम्पत्ति बढ्न थालेको छ। अहिले बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति पनि यस क्षेत्रमा तनावको विषय बनेको छ। कर्जा माग नहुँदा गैरबैंकिङ सम्पति बढ्न थालेको छ। यो पनि बैंकिङ क्षेत्रका लागि नकारात्मक भएको कोइराला बताउँछन्।
चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा बैंकहरूसँग कुल ३८ अर्ब २६ करोड बराबरको गैरबैंकिङ सम्पत्ति छ। यो गत आर्थिक वर्षको यस समयभन्दा १.७ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७८/०७९ मा बैंक तथा वित्तीय संस्थाहरुमा १० अर्ब ५२ करोडको गैरबैंकिङ सम्पत्ति रहेकोमा २०८०/०८१ असार मसान्तमा आइपुग्दा साढे ३५ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ।