५० लाख डलरमा ‘गोल्ड कार्ड’ भिसा बेच्ने ट्रम्पको घोषणा

हिमाल प्रेस १४ फागुन २०८१ १७:१६ | Wednesday, February 26, 2025
५० लाख डलरमा ‘गोल्ड कार्ड’ भिसा बेच्ने ट्रम्पको घोषणा फाइल तस्बिर।

काठमाडौँ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन्।

ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका छन्।

‘हामी गोल्ड कार्ड भिसा बेच्ने तयारी गरिरहेका छौँ। हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर राख्ने तयारी गरिरहेका छौँ,’ ट्रम्पले पत्रकारहरूसँग भने।

आफ्नो दोस्रो कार्यकालमा लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकालालाई प्राथमिकतामा राखेको ट्रम्पले नयाँ कार्ड अत्याधिक मूल्यवान अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन्।

उनले भने,‘धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्। र, उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन्।’

करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरू हुने ट्रम्पले बताए। उनले भने,‘हामी यी कार्डहरूमध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौँ। हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौँ।’

उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए। धनी रूसीहरूले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको बताए।

उनले भने,‘सम्भवतः म केही रूसी कुलीन वर्गहरूलाई चिन्दछु, जुन धेरै राम्रो मानिसहरू हुन्। यो सम्भव छ। उनीहरू पहिलेजस्तो धनी छैनन्। मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन्। मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन्।’

तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रूसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन्। (रासस/एएफपी)

प्रकाशित: १४ फागुन २०८१ १७:१६ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast