सुनसरीमा हावाहुरीबाट लाखौँको केराखेती नष्ट

हिमाल प्रेस १६ फागुन २०८१ ७:२१ | Friday, February 28, 2025
सुनसरीमा हावाहुरीबाट लाखौँको केराखेती नष्ट

सुनसरी- सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-२ का जब्बार मियाँले भोक्राहा र इनरुवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन्। करिब ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गरेका हुन्। नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए।

मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गरेका छन्। ९ लाख लागतमा उनले केराखेती गरेका थिए। उनी पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै थिए।

तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पुर्‍याउँदा उनीहरू निरास भएका छन्। केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उनहरूले जानकारी दिए।

उनीहरू दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुन्। दुई दिन लगातार असिनापानीसँगै आएको हुरीका कारणले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ।

गत आइतबार राति र सोमबार साँझको हुरीले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ। स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन्।

सुनसरी सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा पटकपटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन्। इनरुवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताए।

दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताए। इनरुवामा मात्रै सय बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उनले बताए। करिब एक करोड बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले बताए।

एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ। हुरीले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गरे। सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए।

प्रकाशित: १६ फागुन २०८१ ७:२१ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast