साग किनेर गुन्द्रुक

हिमाल प्रेस ७ फागुन २०८१ १२:१६ | Wednesday, February 19, 2025
साग किनेर गुन्द्रुक

काभ्रेपलाञ्चोक- भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ।

सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो। प्रतिकिलो २५ का दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए।

उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महँगाे भाडा पर्ने भएपछि गाउँपालिकाले खरिद गर्ने भएको हो।

खत्रीका अनुसार आफूसँग हाल रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ। ‘गाउँपालिकाकै व्यवस्थापनमा गुन्द्रुक बनाएर बिक्री गर्ने योजना बनाइँदैछ’, खत्रीले भने।

काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो। यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अधिवेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्रान्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो।

बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्रान्डिङ गरी मोही-प्रवर्द्धन गर्न लागिएको हो। नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेको दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वच्छ भइने नगर प्रमुख टोकबहादुर वाइबाले बताए।

उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ। नगरमा उत्पादन भएको दूध स्थानीय बजारमा बिक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ।

प्रकाशित: ७ फागुन २०८१ १२:१६ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast