सलोन भन्छन् : बाबाको नदेखिने इमोसनकाे कथा हाे ‘रंगी’

हिमाल प्रेस ३० माघ २०८१ १२:२१ | Wednesday, February 12, 2025
सलोन भन्छन् : बाबाको नदेखिने इमोसनकाे कथा हाे ‘रंगी’

काठमाडौँ- फिल्म ‘होस्टल’ बाट हिरोका रुपमा उदाएका कलाकार सलोन बस्नेतकाे फिल्म ‘रंगी’ यही शुक्रबार अर्थात् फागुन २ देखि प्रदर्शन हुँदैछ। फिल्ममा उनी बुबाको भूमिकामा देखिनेछन्। सलोनकाअनुसार दर्शकले उनलाई एक संघर्षशील बुबाको भूमिकामा हेर्न पाउनेछन्।

‘फिल्ममा म फूड डेलिभरीको भूमिकामा छु। दर्शकले फिल्ममा छोरीको पालनपोषणमा बाबुले कति संघर्ष गर्नुपर्छ भन्ने हेर्न पाउनुहुनेछ’, सलोन भन्छन्।

‘रंगी’ ले समाजलाई प्रतिनिधित्व गर्ने अभिनेता सलोन बताउँछन्। ‘बाबाको इमोसन नदेखिने इमोसन हो। मेरो बाबाले पनि कहिल्यै मलाई इमोसन देखाउनुभएन। बाबा बलियो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। एउटा बाबुले ऊ एक्लो हुँदा कस्तो अनुभव गर्छ, उसले कसैलाई केही देखाउन पाएको छैन। मैले सक्दिन अब भन्न पाएको छैन। समाजले तैले गर्नुपर्छ भनिरहेको छ। त्यो कति गाह्रो हुन्छ होला भन्ने न्यारेसन फिल्ममा छ। समाजले हुँदा र नहुँदा कसरी हेर्छ भन्ने कथा पनि हो,’ फिल्मको कथावस्तुबारे प्रस्ट्याउँदै सलोनले भने।

यही फिल्मबाट अभिनेता सलोन फिल्म निर्माणमा पनि होमिएका छन्। उनले छोरी सान्भिकाको नाममा सुरु गरेको कम्पनी सान्भी इन्टरटेनमेन्टमार्फत ‘रंगी’ बनाएका छन्।

छोरी सान्भिका जन्मिएपछि आफ्नो जीवनमा केही परिवर्तन आएको सलोनले बताए। गरिरहेका छन्। ‘छोरी जन्मिएपछि अब केही फरक गर्नुपर्छ। फिल्ममा एक स्टेप अगाडि बढ्नुपर्छ भन्ने फिल भयो। सधैँ अभिनयबाट कति अगाडि बढ्ने भनेर फिल्म निर्माणमा हात हालें। आफ्नो र छोरीको भविष्यकै लागि भए पनि फिल्म बनाउनुपर्छ भन्ने सोच आयो’, सलोन भन्छन्, ‘मलाई कन्टेन्ट बेसको कथाका फिल्म मनपर्छ। मैले गर्न चाहेको क्यारेक्टर ‘रंगी’ मा छ। कन्टेन्टसँगै समाजलाई सन्देश पनि पुगोस् भन्ने मेरो चाहना हो।’

छोरी जन्मिएपछि पात्रकाे गहिराईमा पुग्न आफूलाई सहज भएको सलोनको बुझाई छ। ‘म रियल लाइफमा त्यही कुरा फिल गरिहेको थिए। जुन मेरो क्यारेक्टरले फिल गर्छ। आयुषी र नम्रताले पनि क्यारेक्टर स्थापित गर्न उत्तिकै सहयोग गरे’, सलोन भन्छन्।

फूड डेलिभरी गर्ने एक व्यक्ति दुर्घटनामा परेकाे भिडियो सामाजिक सञ्जालमा देखेपछि त्यही कथामा प्रेरित भएर फिल्म बनाएकाे सलाेनले खुलाए। ‘फुड डेलिभरी गर्ने ती व्यक्तिलाई सायद बसले ठक्कर दिएको थियो होला। त्यो भिडियो फेसबुकमा भेटें। भिडियोमा उसलाई हेर्नेको भीड थियो। भीड भित्रबाट उसलाई अस्पतालमा लैजान भनिरहेका थिए। तर फुड डेलिभरी गर्नेले ‘मेरो डेलिभरी यही ५ मिनेट पर छ। पहिला डेलिभरी गरेर आउँछु। त्यसपछि जाउँला नि’ भन्नुभयो । त्यो कुराले मेरो मन छोयो। उहाँले आफ्नो ज्यान भन्दा पनि कामलाई प्राथमिकता दिनुभएको थियो। भिडियो हेरेपछि मैले निर्देशक सुरेश न्यौपानेसँग फिल्म बनाउने कुरा गरें’, सलोन सम्झन्छन्।

सलोन आम मानिसले हरेक दिन देखेर पनि ‘इग्नोर’ गरिरहेको कथालाई ‘रंगी’ मार्फत ल्याएको दाबी गर्छन्। ‘बाटोमा हरेक दिन फूड डेभिलरी गर्ने व्यक्तिहरु देखिरहेका हुन्छौँ। तर हामी वास्ता गर्दैनौँ। उनीहरु भित्र पनि केही कथा होला नि भनेर हामीले त्यसैमा फिल्म बनायौं,’ उनले भने।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।

प्रकाशित: ३० माघ २०८१ १२:२१ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast