‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’

हिमाल प्रेस ५ फागुन २०८१ १८:४५ | Monday, February 17, 2025
‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’ फाइल तस्बिर।

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताएका छन्।

इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अंक विमोचन गर्दै सोमबार उनले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको जानकारी दिएका हुन्।

‘हामीले आठ अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बंगलादेशलाई निर्यात गर्ने सम्झौता गरेका छौँ, उक्त सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ,’ उनले भने।

मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैलाई हुने भएकाले विपन्न वर्गलाई सस्तो ब्याजदरमा दुईदेखि पाँच लाख बराबरको सेयर उपलब्ध गराउनेगरी सरकारले काम गरिरहेको उल्लेख गरे।

उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे। उनले यसअघि जलविद्युत् आयोजना निर्माण भए पनि प्रसारण लाइनको अभावका कारण विद्युत् खेर गइरहेकाले अब त्यस्तो हुन नदिन निजी क्षेत्रले प्रसारण लाइन निर्माण गर्ने व्यवस्था मिलाइएको बताए।

प्रकाशित: ५ फागुन २०८१ १८:४५ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast