सडक स्तरोन्नति नहुँदा पर्वतका किसानलाई सुन्तला ढुवानीमा समस्या

हिमाल प्रेस २ फागुन २०८१ १२:०१ | Friday, February 14, 2025
सडक स्तरोन्नति नहुँदा पर्वतका किसानलाई सुन्तला ढुवानीमा समस्या

म्याग्दी- सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ। बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुन्तलाखेती हुने गाउँ हो।

म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो। ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए।

‘साना खालका बलेरो जीपमा थोरैथोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुपरेको छ’, उनले भने, ‘सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ।’

दश वर्षअघि स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन्। बेनी–बगरफाँट–बाँसखर्कभन्दा बेनी–मल्लाज–बाँसखर्क सडक पाँच किलोमिटर र मोहनचोक–मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ।

मल्लाज क्षेत्रको सडक स्तरोन्नति भए पनि बाँसखर्क प्रवेश गरेपछि साँघुरो, ग्रेड तथा मोड नमिलेको कच्ची सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ। बाँसखर्कका दुई सय घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन्। यो वर्षमात्र बाँसखर्कबाट १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडाध्यक्ष जगबहादुर रोकाले बताए।

देशका अन्य ठाउँको बगैँचा निख्रिएपछि बाँसखर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ। एक जना किसानले वार्षिक पाँच लाखदेखि ४५ लाखसम्मको सुन्तला बिक्री गर्छन्। सडक सहज हुने हो भने सुन्तलालाई सुुरक्षित र सहज रूपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्राअवधि एक घण्टाबाट १५ मिनेटमा छोटिने वडाध्यक्ष रोकाले बताए।

प्रकाशित: २ फागुन २०८१ १२:०१ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast