 
                             
                                            एन्टोनियो ग्राम्सीले भनेका छन्, ‘जब पार्टीभित्र आलोचनात्मक सोचलाई निषेध गरिन्छ, तब त्यो पार्टी कठोर संरचनामा परिणत हुन्छ। यस्तो अवस्थामा विरोधी विचारधारालाई सत्ताबाट विस्थापित गर्न ‘नैतिक तथा वैचारिक अनुशासन’ का नाममा दमन गरिन्छ।’
इटालियन मार्क्सवादी दार्शनिक, राजनीतिज्ञ र समाजशास्त्री ग्राम्सीको यस्तो दृष्टिकोण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिसँग मेल खाने राजनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ। एमालेका तीन नेताहरू डा. भीम रावल, डा. विन्दा पाण्डे र उषाकिरण तिम्सिना ओलीले गरेको निर्णयमा फरक विचार राखेकै आधारमा कारबाहीमा परेका छन्।
एमाले केन्द्रीय सचिवालयले पुस १० गते पूर्वउपाध्यक्षसमेत रहेका नेता रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई कारबाही गरेको थियो। रावललाई पार्टी सदस्यताबाटै हटाइएको छ भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ।
उनीहरूमाथि गरिएको कारबाही दलभित्र फरक विचारहरूको सम्बोधन संस्थागत विधि, आन्तरिक लोकतन्त्र र खुला संवादबाट हुनुपर्ने मान्यताविपरीत रहेको विषयमा बहस हुँदै आएको छ। प्रस्तुत आलेखको तात्पर्य तीन नेतामाथि भएको कारबाहीको समर्थन या विरोध गर्नु होइन। यहाँ त ६ महिनाका लागि निलम्बनमा परेकी विन्दा पाण्डेको दैनिकी र अबको गन्तव्यबारे चिहाउन मात्र खोजिएको छ।
पाण्डे ४ दशकदेखि ओलीसमेतलाई नेता मानेर आफ्नो राजनीतिक ‘करियर’ अगाडि बढाउँदै आएकी नेत्री हुन्। उनी यति बेला ओलीविरुद्ध लागेकै आरोपमा ६ महिनाका लागि पार्टीबाट निलम्बनमा परेकी छन्।
उनीमाथि ओलीले अनुशासनका नाममा कारबाही गरेका छन्। पार्टीले कारबाही गरे पनि पाण्डे न अन्य पार्टीमा लागेकी छन् न त कारबाही फिर्ताका लागि नेतृत्वसामु झुकेकी छन्। बरु यो समयलाई थप सिर्जनशील बनाउन सक्रिय छिन्। सोही कारण अचेल पूर्वसांसद विन्दा पाण्डेको दैनिकी बदलिएको छ। पाण्डे एमालेको स्थायी कमिटी सदस्य र अर्थ तथा योजना विभाग प्रमुख थिइन्। उनको राजनीतिक दौडधूप स्थगित भएको छ। सक्रिय राजनीतिक जीवनमा ‘अल्पविराम’ लागेकाले उनी राजनीतिबाहिरकै काममा व्यस्त भएकी हुन्।
‘पुस्तक लेख्दैछु। ६ महिना उपलब्धिमूलक बनाउने योजनामा छु,’ विन्दा भन्छिन्, ‘बिहान ६ बजे उठ्छु। नित्यकर्म सकेपछि केही समय पढ्न मन लाग्छ। खाना पकाउने रुटिन पर्दा पकाउँछु।’ टीभी हेर्न नभ्याउने पाण्डे रेडियो सुन्दै लेखपढ गर्ने गरेको बताउँछिन्।
सामान्यतयाः खाना खाइसकेपछि साथीभाइ भेटघाट गर्नु उनकोे आदत हो। बेलुका पनि खानापछिको समय लेखपढमै बित्छ। ‘सुत्दा त १२ बज्छ। फुर्सदको समय भन्यो। झनै भ्याइनभ्याइ छ’, उनले भनिन्।
पार्टी कामबाहेकको राजनीतिक र सामाजिक काममा कमी आएको छैन। पार्टी राजनीतिक जीवनको चार दशकमा उनी कुनै न कुनै जिम्मेवारीमा थिइन्। यसपटक राजनीतिमा ‘ब्रेक’ लागेको छ। यसमा उनलाई कुनै दुःख छैन। ‘पार्टीको कारबाहीले मेरो व्यक्तिगत जीवनमा असर गरेकै छैन। शुभेच्छुकहरू दुःख मान्नुहुन्छ। मैले के भन्ने र?’ उनको प्रश्न छ।
‘भुइँमान्छे’को राजनीतिक कथा लेखनमा सक्रिय
विन्दालाई एमालेले कुन पद वा जिम्मेवारी केबाट निलम्बन गरेको हो प्रस्ट छैन। पार्टीबाट पार्टीको जिम्मेवारीबाट हटाएको सञ्चारमाध्यमबाट सुनेकी थिइन्। एमालेको आधिकारिक वेबसाइटमा स्थायी कमिटी सदस्यबाट (निलम्बन) लेखिएको छ। तर अहिले पोलिट्ब्युरो सूचीमा समेत नाम छैन। जे भए पनि उनी अहिले पार्टीको राजनीतिक कार्यक्रममा सहभागी छैनन्। यही कारण पुस्तक लेखनमा व्यस्त भएको उनले बताइन्। ‘नेता जोगाउने र पार्टी बनाउने : भुइँमान्छे’ शीर्षकको पुस्तक फागुन २१ मा सार्वजनिक गर्ने विन्दाको तयारी छ।
‘मैले राजनीतिको कुरा उठाउन खोजेकी छु। भुइँमान्छेले भूमिगत नेतालाई कसरी जोगाए र पार्टी निर्माणमा कसरी लागे भन्ने कुरा पुस्तकमा छ,’ विन्दा भन्छिन्, ‘फागुन २१ सुखानी हत्याकाण्ड भएको दिन हो। सोही दिन पुस्तक ल्याउने तयारी गरेकी छु। हेरौँ कति सम्भव हुन्छ।’ पुस्तकमा माले कालका भूमिगत राजनीति समेट्दैछिन् विन्दा।
‘भूमिगत कालमा नेता जोगाउने र पार्टी बनाउने काम भुइँमान्छेले गरेका हुन्। अहिले नेताहरू मैले पार्टी बनाएको भन्दै आएका छन्। नेताले नेतृत्व गरेको हो। पार्टी बनाएको कार्यकर्ताले हो’, उनको निचोड छ।
पुस्तकको परिकल्पनाबारे पनि विन्दाले रोचक किस्सा सुनाइन्।
एमालेबाट एकीकृत समाजवादीको विभाजित हुने बेला काठमाडौँको होटल मेरियटमा छलफलमा जुटेका थिए, केपी शर्मा ओली र माधवकुमार नेपाल। जुन संवाद पार्टी विभाजनअघिको ओली-नेपालको अन्तिम थियो। सोही छलफलमा दुई नेताले होटलको झ्यालबाट धराहरातर्फ हेरेको एउटा तस्बिर सार्वजनिक भएको थियो। ओलीले नेपाललाई धरहरा देखाउँदै ‘मैले बनाएको धरहरा’ भनेका थिए रे। यही सुनेपछि विन्दालाई पुस्तक लेख्ने इच्छा जागेको रहेछ।
‘नेताहरू सबै आफैँले बनाएको भन्छन्। यसमा भुइँमान्छेको देन छ नि’, विन्दाले भनिन्, ‘यसपछि मैले भुइँमान्छेको पुस्तक लेख्ने अठोट राखेँ।’ विन्दाका नेता ओली हुन्। उनी ओलीको खराब प्रवृत्तिविरुद्ध आवाज उठाउँछिन्। यही कारण उनले कारबाही भोग्नुपरेको छ। अहिले पनि विन्दाको लाइन प्रस्ट छ, ‘नेतृत्वले गलत गरे, बोल्नुपर्छ।’
भुइँमान्छेको कथा लेख्ने विन्दासँग एमालेको टकराव बढेको हो। उनी भुइँमान्छेका कुरा गर्न चाहन्थिन्। पार्टीमा ‘दानवीर’ हरू को वर्चस्व देखिन थाल्यो। यसैविरुद्ध उनले आवाज उठाइन्, अनि एमालेले कारबाहीको डण्डा लगायो।
गत कात्तिक २५ मा एमालेले नयाँ मुख्यालय बनाउन शिलान्यास गरेको थियो। विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दिने र बनाउने सर्तमा भवन शिलान्यास गरिएको थियो। पार्टीभित्र यही विषयको विरोधमा विन्दाले आवाज उठाइन्। अनि एमालेले उनलाई ६ महिनाका लागि निलम्बन गरेको छ।
ओलीले छेकेको विन्दाको राजनीतिक बाटो
कुनै बेला ओली-विन्दा पार्टीमा सँगै थिए। समयान्तरमा ओलीका लागि विन्दा भारी परिन्। आठौँ महाधिवेशनमा ओली अध्यक्षमा लड्दा विन्दा उनकै प्यानलबाट केन्द्रीय सदस्य भइन्। ‘त्यसबेला झलनाथ खनाल र ओली लड्दा मेरो नाम ओली प्यानलमा थियो,’ विन्दा भन्छिन्। यसपछि पनि विन्दा ओली निकटस्थ थिइन्। पोलिटब्युरो सदस्यको चुनावमा भने विन्दाले प्यानलबाहिरबाट प्रतिस्पर्धा गरिन्। पोलिट्ब्युरोमा झलनाथ प्यानलका बहुमतले जिते।
महिला उम्मेदवार कम भएकाले विन्दाले जित्नभन्दा पनि सहभागिताका लागि चुनाव चाहेकी थिइन्। बाधक बने ओली। आफ्नो कुरा नसुनी विन्दाले उम्मेदवारी दिएको भनेर ओलीलाई चित्त बुझेको थिएन। उनले चुनाव हारिन्। ओली पक्ष पोलिट्ब्युरोमा अल्मतमा पर्यो।
‘यसअघि महाधिवेशनमा केन्द्रीय सदस्यमा एक तिहाइ उम्मेदवारी नपरेको भन्नेमा नेताहरू थिए। जसका कारण केन्द्रीय सदस्यमा १७ प्रतिशत मात्र महिला थिए।’
उम्मेदवारी नपरेको भन्दै म महिला आएँ। यही भनाइ फेरि पोलिट्ब्युरो चुनावमा पनि नदोहोरियोस् भन्नका लागि मैले प्यानलबाहिरबाट लड्ने सोँच बनाए,’ विन्दा भन्छिन्,यही कारण उनी उम्मेदवार बनिन्।
नवौँ महाधिवेशनमा विन्दाले फेरि ओली प्यानलबाटै केन्द्रीय सदस्य जितिन्। ओलीसँग सम्बन्ध ठीकै थियो। ओलीले पार्टीमा गर्ने निर्णयमा विन्दा आलोचनात्मक समर्थन गर्थिन्। संविधानसभामा समानुपातिक सभासद् बनेकी उनी ०७४ सालमा प्रत्यक्षबाट चुनाव लड्न चाहन्थिन्। विन्दाले काठमाडौँ निर्वाचन क्षेत्र २ बाट लड्न आकांक्षा राखिन्। तर पाइनन्। विन्दा जत्तिको नेतालाई संसद्मा लैजानुपर्छ भन्ने आवाज उठेपछि उनी फेरि समानुपातिकमा परिन्। पार्टी जीवनमा भने उनी पोलिट्ब्युरोभन्दा माथि उठ्न सकिनन्।
दसौँ महाधिवेशनमा विन्दा उपमहासचिव पदमा लड्न चाहेकी थिइन्। विन्दाले मात्र होइन, चितवनमा भएको महाधिवेशनमा पदाधिकारीमा लड्न उनीसहित केही महिला नेत्रृले तयारी गरेका थिए। उपाध्यक्षमा राधा ज्ञवाली, उपमहासचिवमा विन्दा र सचिवमा शिवमाया तुम्बाहाङ्फे र पद्मा अर्याल उम्मेदवारी दिने योजनामा थिए। ओलीका अगाडि कसैको केही लागेन। पद्मा सचिवमा अटाउँदा अन्य नेत्रृ स्थायी कमिटीमा खुम्चिन बाध्य भए।
‘हामीले सहभागिता जनाउनकै लागि उम्मेदवारी दिन चाहेका थियौँ। तर पार्टी पार्टी जोगाउने समय भएका बेला चुनावमा नजाऔँ भनेपछि पछि हट्यौँँ’, विन्दा भन्छिन्।
मीनभवनबारे विन्दाको अडान यथावत्
एमाले मुख्यालय मीनबहादुरले बनाइदिने विषयमा विन्दाले आपत्ति जनाएकी थिइन्। उनलाई पार्टी निर्णयविपरीत आवाज उठाएको भन्दै एमाले सचिवालयले स्पष्टीकरण सोधेको थियो। विन्दा यसमा अहिले पनि स्पष्ट छिन्। ‘मैले कहाँ पार्टी निर्णयविपरीत बोलेँ’, विन्दाको प्रश्न छ। यसअघि विन्दाहरूकै पार्टी सदस्यहरूकै सहयोग र सक्रियतामा पार्टी केन्द्रीय कार्यालय बनाउने निर्णय केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्बाट भएको थियो।
एक सदस्यबाट एक सय रुपैयाँ उठाएर ‘आफ्नो केन्द्रीय कार्यालय, आफैँ बनाउने’ अभियान सुरु पनि भएको थियो। ओलीले भवन बनाउने जिम्मा मीनबहादुरलाई दिए। मीनबहादुर एमालेभित्र ‘दानवीर’ कहलिएका छन् भने एमाले भवनलाई ‘मीनभवन’ नाम दिइएको छ। विन्दाको प्रतिरोध भवन बनाउने निर्णयप्रति थियो।
यही प्रकरणमा विन्दालाई स्पष्टीकरण सोध्ने निर्णय एमाले सचिवालयले कात्तिक ४ मा गरेको थियो। उनले कात्तिक ६ गते पत्र हात पारेकी थिइन्। विन्दाले कात्तिक १२ मा स्पष्टीकरण बुझाएकी थिइन्।
‘मलाई केमा कारबाही गरिएको हो स्पष्ट छैन। पदबाट थियो भने स्थायी समितिबाट भन्नुपर्थ्यो। जिम्मेवारीबाट भनिएको छ,’ विन्दा भन्छिन्’ यसमा एमाले नेतृत्व अलमलमा परेको विन्दाको ठहर छ।
एमालेको केन्द्रीय कमिटीबाट ‘दानवीर’को विषयमा निर्णय नहुनु नै उनले जितेको महसुस गरेकी छन्। ‘त्यत्रो दानवीरलाई पार्टी केन्द्रीय कमिटीको निर्णयबाटै धन्यवाद दिनुपथ्र्यो। बैठकका प्रतिवेदनमा लेखिनुपथ्र्यो। तर त्यो हुन सकेन। किन होला?’ विन्दा भन्छिन्, ‘किन यसो गरिएन? अचम्म लागेको छ।’
विन्दाको विगत
२०२३ मा नुवाकोटमा जन्मिएकी विन्दा विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा प्रवेश गरेकी हुन्। त्यसबेला नुवाकोटका स्कुलमा चर्चामा थिए दुई विद्यार्थी संगठन, अखिल पाँचौँ र अखिल छैटौँ। विन्दाले अखिल पाँचौँ रोजिन्। उनले त्यसबेला विद्यार्थी संगठनले विद्यार्थी हकहितमा काम गर्ने बुझेकी थिइन्।
त्यहीँबाट विन्दाको राजनीतिक जीवन सुरु भयो। २०३८ सालमा संगठनको जिल्ला कोषाध्यक्ष बनिन्। जतिबेला उनी १४ वर्षकी थिइन्। एक दिन उनको विद्यालयमा शिक्षकसँग मनमुटाव भयो। शिक्षक अखिल छैटौँका परेछन्। यसैले विवाद भयो। लागिन् काठमाडौँतिर। उनले काठमाडौँको कान्तिईश्वरी विद्यालयबाट एसएलसी दिइन्। उनी त्यसपछि त्रिचन्द्रमा भर्ना भइन्। यसरी उनले विद्यावारिधिसम्मको अध्ययन पूरा गरिन्।
राजनीति पनि अघि बढिरह्यो। उनीसँग विद्यार्थी संगठनबाट २०४६ सालको आन्दोलन हाँकेको अनुभव छ। २०४७ सालमा उनी अनेरास्ववियुको केन्द्रीय कमिटीमा पुगिन्। २०४७ सालमा माले र माक्र्सवादीबीच एकता भएपछि भने उनले विद्यार्थी संगठन छाडिन् अनि अनेमसंघको परिषद्मा पुगिन्।
२०४८ सालको दोस्रो सम्मेलन केन्द्रीय कोषाध्यक्ष बनिन्। अनि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय महिला मजदुर विभागमा विद्या भण्डारी संयोजक बन्दा उनी सचिव बनिन्। २०५९ सालमा नेकपा एमालेको केन्द्रीय महिला विभाग बन्यो। त्यसको पनि उनी सचिव बनिन्। त्यसै क्रममा सुरु भयो दोस्रो जनआन्दोलन। पार्टीको आठौँ महाधिवेशनमा एमालेकै केन्द्रीय कमिटीमा पुगेकी थिइन्।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 