विद्यार्थीलाई तातो पन्यु डामेको आरोपमा प्रिन्सिपलकी छोरी पक्राउ

हिमाल प्रेस ३० माघ २०८१ २०:३८ | Wednesday, February 12, 2025
विद्यार्थीलाई तातो पन्यु डामेको आरोपमा प्रिन्सिपलकी छोरी पक्राउ तस्बिर : सामाजिक सञ्जाल।

पोखरा– विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलका प्रिन्सिपलकी छोरी पक्राउ परेकी छन्।

भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल एवं शिक्षिकासमेत रहेकी सुष्मा श्रेष्ठले मंगलबार कक्षा ४ पढ्ने ३ जना बालबालिकालाई तातो पन्यु डामेको विद्यार्थीले बताएका छन्।

कक्षा कोठामा होहल्ला गरेको भन्दै उनले विद्यार्थीको गालामा तातो पन्यु डामेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बुधबार एकजना विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए।

उनका अनुसार अनुसन्धान गर्दै जाँदा श्रेष्ठले अरु दुई जना विद्यार्थीलाई समेत डामेको खुलेको हो। डामिएका सबैजना विद्यार्थी १० वर्ष उमेरका हुन्। सुष्मा विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरी हुन्।

तनहुँ जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ती शिक्षिकालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनायो।

यता, सो घटनाको विद्यार्थी तथा अभिभावकहरुले कडा शब्दमा निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। घटना सार्वजनिक भएपछि विद्यार्थी संगठनले श्रेष्ठलाई कारबाहीको माग गरेका थिए। केही विद्यार्थी र अभिभावकले तनहुँको भीमाद बजारमा विरोध प्रदर्शन गरे।

नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन, २०७५ तथा फौजदारी संहिता, २०७४ अनुसार बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु कानूनी अपराध हो।

बाल अधिकारसम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार, शिक्षालयभित्र बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु गैरकानुनी भनी उल्लेख छ। यस्तो कार्यमा संलग्नलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।

प्रकाशित: ३० माघ २०८१ २०:३८ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast