काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन समारोहमा शुक्रबार सहभागी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायत। तस्बिर : हिमालप्रेस
काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेशबाट फर्किएर राजनीतिमा लागेकाहरूको चरित्रमाथि प्रश्न उठाएका छन्। काठमाडौँ महानगरपालिका-२९ को वडा भवन शुक्रबार उद्घाटन गर्दै सिंहले भने, ‘विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन्। छोडेर आएको हो कि केही काण्ड भएर फर्केर आएको हो? त्यो पनि बुझ्नुपर्यो नि। राजनीति गर्न चरित्र नचाहिने हो?’
उनले केही दलका नेताले सरकारले काम गरेन भनेर टिप्पणी गरेकोमा असन्तुष्टि जनाए। उनले भने, ‘के गर्दा ठूलो कुरा हुने यहाँ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सरकार र पार्टीका विरुद्धमा होहल्ला गर्नेको नियत बुझ्न कार्यकर्तालाई निर्देशन दिए।
मन्त्री सिंहले नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस-एमाले मिलेर सरकार बनेको बताए। यसैगरी उनले अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको दाबी गरे।
त्यस्तै, फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिए। सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे।


