मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको छ : प्रचण्ड

हिमाल प्रेस १५ फागुन २०८१ २१:०६ | Thursday, February 27, 2025
मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको छ : प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

सुनसरी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम समुदायको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न माओवादी गम्भीर रहेको बताएका छन्।

सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित घुस्कीमा बिहीबार मुस्लिम अगुवासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको दाबी गरे।

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको उनको भनाइ थियो।

हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन र बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग गरेको स्थानीय दिल मोहमत मियाँले बताए।

‘तराई मधेस जागरण अभियान’ सुरु गरेको चौथौ दिन नेकपा (माओवादी केन्द्र) ले सुनसरीको विभिन्न स्थानमा कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेत्री पम्फा भुसाललगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: १५ फागुन २०८१ २१:०६ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast