भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

हिमाल प्रेस १४ फागुन २०८१ १४:३४ | Wednesday, February 26, 2025
भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते दुर्घटनाग्रस्त भ्यान।

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान बुधबार सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

दुर्घटनामा परी भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए।

उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए। नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ। दुर्घटनाका कारण अन्नपूर्ण–४ नारच्याङमा बुधबारदेखि सुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ।

तरुण दलका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रमस्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगन गरिएको जानकारी दिए।

प्रकाशित: १४ फागुन २०८१ १४:३४ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast