भयावह दुर्घटना : ६ महिनामा एक हजार २३३ को मृत्यु, पुसमा मात्रै १२ हजार सवारी दुर्घटना

हिमाल प्रेस ६ फागुन २०८१ ७:३० | Tuesday, February 18, 2025
भयावह दुर्घटना : ६ महिनामा एक हजार २३३ को मृत्यु, पुसमा मात्रै १२ हजार सवारी दुर्घटना दुर्घटनाग्रस्त बस। तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ।

लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो।

गृह मन्त्रालयका अनुसार २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको ज्यान गएको थियो। यो वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ।

गत वर्षको छ महिनाको तुलनामा या वर्षको ६ महिनामा सडक दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ। गत मंसिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको ज्यान गएको थियो। गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको मृत्यु भएको विवरण छ। अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको मृत्यु भएको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढेको छ। मधेश प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ।

प्रकाशित: ६ फागुन २०८१ ७:३० | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast