बढ्यो बिमा कम्पनीहरूको नाफा

हिमाल प्रेस १ फागुन २०८१ १६:२४ | Thursday, February 13, 2025
बढ्यो बिमा कम्पनीहरूको नाफा

काठमाडौँ- जीवन बिमा कम्पनीहरूको खुद नाफा आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा १४.८५ प्रतिशतले वृद्धि भएको छ। १४ जीवन बिमा कम्पनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले ३.४८ अर्ब रुपैयाँ  खुद नाफा आर्जन गरेका छन्, जुन २०८०/८१ को सोही अवधिको ३.०३ अर्ब रुपैयाँ भन्दा बढी हो।

जीवन बिमा कम्पनीहरूले २०८०/८१ मा ५.७३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका थिए, जुन २०७९/८० को ४.९७ अर्ब रुपैयाँ भन्दा १५.१८ प्रतिशत  बढी हो। समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय जीवन बिमा कम्पनीबाहेक सबै जीवन बिमा कम्पनीहरूको नाफामा वृद्धि भएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले २०८१/८२ को पहिलो छ महिनामा सबैभन्दा धेरै ८६.७८ प्रतिशत खुद नाफा वृद्धि देखाएको छ। कम्पनीले समीक्षा अवधिमा २३ करोड ९ लाख  रुपैयाँ  नाफा गरेको छ। एसियन लाइफ इन्स्योरेन्स र रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः ५६.५५ प्रतिशत र ५१.७ प्रतिशत खुद नाफा वृद्धिसहित दोस्रो र तेस्रो स्थानमा छन्।

एसियन लाइफले २०८०/८१ को पहिलो ६ महिनामा १५ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो भने २०८१/८२ को सोही अवधिमा २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसैगरी रिलाएबल नेपालले २०८०/८१ ले पहिलो ६ महिनाको २३ करोड ९ लाख रुपैयाँ  खुद नाफा बढाएर चालू आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ३ लाख रुपैयाँ पुर्‍याएको छ।

राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा भने घटेको छ। पुस मसान्तसम्ममा १ करोड ४२ लाखबाट घटेर ८० लाख ६ हजार रुपैयाँमा पुगेको हो। गत पुससम्म ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको सन नेपाल लाइफको खुद नाफा यो सालको पुस मसान्तमा आइपुग्दा घटेर २८ करोड २२ लाख रुपैयाँमा झरेको छ।

१४ जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनिको खुद नाफा ४२ करोड ७७ लाख रुपैयाँ थियो। हिमालयन लाइफ र रिलाएबल नेपाल क्रमशः ३७ करोड ६२ लाख र ३५ करोड ३ लाख रुपैयाँ नाफासहित दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: १ फागुन २०८१ १६:२४ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast