बढाइयो धरहरा अवलोकन गर्ने समय, एक करोड ५२ लाख राजस्व संकलन

हिमाल प्रेस २९ माघ २०८१ ७:१३ | Tuesday, February 11, 2025
बढाइयो धरहरा अवलोकन गर्ने समय, एक करोड ५२ लाख राजस्व संकलन

काठमाडौँ- गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ। पुनःनिर्माणपश्चात् गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो।

माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो। अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए।

उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ। गएको मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए।

प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन आउने नागरिकको संख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले बताए। पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन्। धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क अर्यालले बताए। उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो। गत मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।

उक्त स्थानमा पार्किङ गर्दा चारपांग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपांग्रे सवारीका लागि १० तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाँकनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गरेका छन्।

प्रकाशित: २९ माघ २०८१ ७:१३ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast