पाथीभरा केबलकार विवाद : प्रदर्शनकारी र प्रहरीबीच झडप, १३ जना घाइते

हिमाल प्रेस ८ फागुन २०८१ १८:३५ | Thursday, February 20, 2025
पाथीभरा केबलकार विवाद :  प्रदर्शनकारी र प्रहरीबीच झडप, १३ जना घाइते

काठमाडौँ– ताप्लेजुङको पाथीभारा (मुक्कुमलुङ) क्षेत्रमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। केबलकारको विषयलाई लिएर मुक्कुमलुङ क्षेत्रमा बिहीबार झडप भएको हो।

‘नो केबलकार’ भन्दै आन्दोलन गरिरहेका आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

‘नो केबलकार’ समूहले पूर्वघोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा पदयात्रा गर्दै केबलकार निर्माणविरूद्ध प्रदर्शन गरेका थिए। आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। ‘नो केबलकार’ समूहको अनियन्त्रित हुन थालेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

पदयात्रा सुरू गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा उनीहरूले पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने बताएका थिए।

पदयात्रामा जसपा नेपालका नेता रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किराँतीलगायतको सहभागिता थियो। केबलकारको विरोध गर्दै आइरहेको ‘नो केबलकार’ पक्षले मंगलबारदेखि बिहीबारसम्म पाथीभरा क्षेत्रमा पदयात्रा गरेका छन्।

प्रकाशित: ८ फागुन २०८१ १८:३५ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast