पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाको माग

हिमाल प्रेस १ फागुन २०८१ १८:२४ | Thursday, February 13, 2025
पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाको माग ताप्लेजुङको पाथीभरा मन्दिर र कुम्भकर्ण हिमशृंखला।

काठमाडौँ– ताप्लेजुङको धार्मिक, सांस्कृतिकस्थल पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाले माग गरेका छन्।

युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा बिहीबार काठमाडौँमा आयोजित अन्तरक्रियामा त्यस क्षेत्रको भौतिक विकासका नाममा मौलिक, धार्मिक, सांस्कृतिक पहिचान मेटाउन लागिएकामा सरोकारवालाले आपत्ति जनाए।

विश्वभरका सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थल पाथीभरालाई निश्चित भूगोलको मात्र भनी प्रचार गर्न नहुने उनीहरुको भनाइ थियो।

पुजारी र स्थानीय मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले बताए।

पाथीभराको प्रसंगले देशभरका धार्मिक, सांस्कृतिक सम्पदा बचाउन सशक्त समूहको आवश्यकता देखिएको धार्मिक क्षेत्रका अनुसन्धानकर्ता भीम पाण्डेले उल्लेख गरे।

छिमेकी मुलुक केदारनाथ कैलाश मानसरोवरमा केबलकार नचलाइएको उल्लेख गर्दै सहभागीहरूले नेपालमा रहेका पूर्वीय दर्शन र सभ्यता नष्ट गर्ने प्रयत्न भइरहेको आरोप लगाए।

बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य जीवन डङ्गोलले धार्मिक, सांस्कृतिकस्थलमा अतिक्रमण भइरहेको बताए।

विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेशजङ्ग शाहले पाथीभरामा केबलकार निर्माण योजना खारेज गर्न माग गरे। हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पाथीभरालगायत देशभरका धार्मिक, सांस्कृतिकस्थलको संरक्षणका लागि सचेत र जागरुक हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १ फागुन २०८१ १८:२४ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast