 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा डा.बाबुराम भट्टराईको राजनीतिक दस्तावेजमाथि छलफल जारी छ। आइतबार बेलुकी १० समूहमा उक्त प्रतिवेदनमाथि छलफल सुरु भएको थियो। उक्त प्रतिवेदनको शीर्षक नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक शक्तिको औचित्य र आधार रहेको छ।
प्रतिवेदनमाथि छलफल गरेर समूह नेताले सुझाव तथा निष्कर्ष सुनाउने क्रम सुरु भएको पार्टीका नेता कृष्ण शर्माले जानकारी दिए। उनले भने, ‘डा.बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि निष्कर्ष सुनाउन सुरु भएको छ।’ आइतबार सुरु भएको महाधिवेशनमा पार्टीको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्रत्यक्ष निर्वाचन हुने शर्माले जानकारी दिए। निर्वाचन प्रक्रिया सोमबार दिउँसो ३ बजेबाट सुरु हुनेछ।
पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ। संरक्षितबाहेकका पदमा निर्वाचन हुने प्रवक्ता शर्माले बताए। संरक्षित पदमा पनि सोही क्षेत्र, लिंगबाट धेरै उम्मेदवारी परे निर्वाचन हुने उनले जानकारी दिए।
डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेसपा नयाँ शक्तिमा अध्यक्षका लागि युवा नेता नेत्र चापागाईँलगायतले उम्मेदवारी घोषणा गरेका छन्। महासचिवमा कृष्ण शर्मा, सोनामसिं लामा, ईश्वर रिजाल, जीएस गुरुङलगायतको चर्चा छ। केन्द्रीय सदस्यका लागि अधिकांश युवाले उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशन १६ सय प्रतिनिधि उपस्थित छन्। मतदान प्रक्रिया भने मंगलबार हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 