 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा महासचिव पदमा पराजित जीएस गुरुङले महाधिवेशनका पाँच सकारात्मक पक्ष औंल्याएका छन्।
पार्टीका प्रभावशाली युवा नेता गुरुङ मंगलबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाधिवेशनमा महासचिवको उम्मेदवार थिए। उनलाई सोनामसिं स्याङ्तानले ३० मतले पराजित गरे। गुरुङले ३७९ मत ल्याएका थिए भने स्याङ्तानले ४०९।
गुरुङले पराजयलाई स्वभाविक रूपमा लिँदै व्यक्ति पराजित भए पनि विधि र पद्धति विजयी भएको बताए। उनले भने,‘व्यक्ति पराजित हुन सक्छन्। म पनि पराजित भएँ तर समग्रमा विधि र पद्धतिको विजयी भएको छ। अब समुन्नत समाजवादी विचारले जित्नुछ। नेपाली राजनीतिमा वैकल्पिक अग्रगामी विचार र दर्शनसहितको नेपाली माटोको सुगन्ध चिन्न सक्ने, सिर्जनशील, स्वावलम्बी, सकृय, सुविचारीत, सुसंस्कृत, सुशासित, सदाचारी र देशभक्तहरूको बलियो नयाँ शक्ति निर्माण गर्ने जिम्मेवारी नवनिर्वाचित नेताहरूमा आएको छ।’
साथै गुरुङले महाधिवेशनका पाँचवटा सकारात्मक पक्षहरू पनि औंल्याएका छन्। जसमा ७० वर्षको उमेरमा डा.बाबुराम भट्टराई उनकै राजनीतिक जीवनमा पहिलोपटक प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष पदमा निर्वाचित, नेपाली राजनीतिक इतिहासमा पहिलोपटक उम्मेदवारलाई ‘नो भो’ गर्न पाउने प्रावधानको प्रारम्भ, प्रवासका पार्टी महाधिवेशन प्रतिनिधिहरूलाई अनलाइन भोटिङको व्यावस्था, अध्यक्ष पछिको उपाध्यक्ष पदमा पहिलोपटक समावेशी समुहबाट उपाध्यक्ष चुन्ने व्यवस्था, सबै समावेशी समुहबाटै प्रतिस्पर्धा गरेर युवापुस्तासहित पौढ सम्मिलित पार्टी बनेको उनले बताएका छन्।
जीएसले देखेका पाँच सकारात्मक पक्ष
१. ७० वर्षको उमेरमा डा.बाबुराम भट्टराई उहाँकै राजनीतिक जीवनमा पहिलोपटक प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ त्यो पनि आफ्नो छोरा/छोरी उमेर समुहको ३५ वर्षे नेत्र चापागाईंसँग चुनाव लड्न हिच्किचाउनु भएन। यो महानताको लागि डा.भट्टराई र हिम्मतका लागि नेत्रलाई सलाम! आजको सापेक्षतामा योभन्दा उन्नत लोकतन्त्र हुनै सक्दैन। के पुरातन पार्टीका नेताले विधार्थी संगठनका अध्यक्षसँग लड्ने र युवाले आफना नेतासँग चुनाव लड्ने हिम्मत गर्छन?
२. नेपाली राजनीतिक इतिहासमा पहिलोपटक उमेदवारलाई No Vote गर्न पाउने प्रावधानको प्रारम्भ गरियो। अध्यक्षदेखि सदस्यसम्मलाई यो महाधिवेशनमा No Vote आएको छ। यो नयाँ चुनावी प्रावधान हामीले नेपाली राजनीतिमा प्रवेश गराउने भूमिका खेल्न पायौं, विश्वास छ कि यसले नेताहरूलाई सधैँ सचेत र सजग गराउनेछ।
३.नयाँ शक्ति निर्माण अभियान देखिनै प्रवासी नेपालीहरूले सम्बन्धित देशबाटै निर्वाचनमा मतदान गर्न पाउनुपर्छ भनेर पहिलोपटक मुद्दाको उठान गर्यौं, सर्वोच्च अदालतले हाम्रो मुद्दाको पक्षमा फैसला पनि गर्यो तर निर्वाचन आयोगले गर्न नसकिरहेको अवस्थामा प्रवासका पार्टी महाधिवेशन प्रतिनिधीहरूलाई अनलाइन भोटिङको व्यावस्था गर्न सफल, नेपाली राजनीतिमा यो महत्त्वपूर्ण मानक स्थापित भएको छ।
४.अध्यक्ष पछिको उपाध्यक्ष पदमा पहिलोपटक समावेशी समुहबाट उपाध्यक्ष चुन्ने त्यो पनि सम्बन्धित समूहबीचको प्रतिस्पर्धामार्फत, यो पनि निकै महत्त्वपूर्ण मानक स्थापित भएको छ।
५. सबै समावेशी समूह बाटनै प्रतिस्पर्धा गरेर खुल्ला, ३३% महिला र २०% युवा र युवाभित्र पनि २०% युवा महिला प्रतिस्पर्धा गरेर समानुपातिक समावेशी पार्टी संगठन बनाउने जुन प्रयत्न गरियो यसले सबै समावेशी समुहबाट जबरजस्त युवापुस्तासहित पौढ सम्मिलित पार्टी बनेको छ। यो झन ठूलो उपलब्धि भएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 