 नेसपा (नयाँ शक्ति) प्रवास प्रदेशका प्रतिनिधिहरूसँग अध्यक्षका उम्मेदवार डा.बाबुराम भट्टराई।
                              नेसपा (नयाँ शक्ति) प्रवास प्रदेशका प्रतिनिधिहरूसँग अध्यक्षका उम्मेदवार डा.बाबुराम भट्टराई। 
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन्। भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन्।
नवनिर्वाचित उपाध्यक्ष भट्टराईले नेपालमा आफूहरूले विल्कुलै नयाँ प्रयास गरेको बताइन्। उनले हिमालप्रेससँग भनिन्, ‘हाम्रो पार्टीले यो नयाँ प्रयास गरेको छ। प्रवासमा रहनुहुनेले पनि मतदानको अधिकार चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले त्यो प्रबन्ध मिलाएका हौं।’ ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेको उनले जानकारी दिइन्।
डा.बाबुराम भट्टराईले प्रवासमा रहने नेपालीले जुन देशमा छ त्यहींबाट राज्य र पार्टीका निर्वाचनहरूमा मतदान गर्न पाउनुपर्छ भनेर आफूहरूको सुरुदेखिकै अडान भएको र त्यसैलाई जोड दिँदै पार्टीको प्रथम महाधिवेशनदेखि विदेशबाटै (भारत प्रवासबाटसमेत) प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गर्ने अभ्यास सुरु गरिएको जनाए।
नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशनमा मंगलबार केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका लागि मतदान भएको थियो। आजबाट मतगणना सुरु भएको छ। नेता कृष्ण शर्माले आजै मतपरिणाम आउने जानकारी दिए।
पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ६९ पदमा निर्वाचन भएको हो। अध्यक्षमा डा.भट्टराई र युवा नेता नेत्र चापागाईं प्रतिस्पर्धामा छन्। महिला उपाध्यक्षमा मानुषी र महिला दलित उपाध्यक्षमा दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजला निर्विरोध निर्वाचित भए। उनीहरूसहित हालसम्म २५ जनाभन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएको नेसपा (नयाँ शक्ति) ले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 