 महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
                             महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
                                            काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपालको व्यापार घाटा ४.४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको तथ्यांकअनुसार व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।
यस्तै कुल वस्तु निर्यात भने ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ। भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो।
वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ।
आयाततर्फ भने ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ।
वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।
आयाततर्फ सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार
कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७६ अर्ब २५ करोड बराबरको भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 