जसले जानीजानी जंगलमा डढेलो लगाए

हिमाल प्रेस १ फागुन २०८१ १२:१८ | Thursday, February 13, 2025
जसले जानीजानी जंगलमा डढेलो लगाए फाइल तस्बिर

पर्वत- सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। जिल्लाको कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कस्थित ठूलाढुंगा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुश्मा-१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेका छन्। पौडेलद्वयले गत माघ २९ गते वनमा आगो लगाएका थिए। वनमा आगो लगाउँदा वनजंगल, वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले दुई युवालाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएकामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पुनः प्रहरी हिरासतमा राखिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए।

पर्वतमा गत वर्ष ७० वटा सामुदायिक वनमा आगालागी भएको थियो। यस वर्ष गत माघदेखि आगालागीका घटना बढ्न थालेका डिभिजन वन कार्यालयले जनाएको छ।

हिउँद याममा हुने अधिकांश आगलागीमा मानवीय लापरबाहीका कारण हुने गरेको पाइएपछि यसपटक दोषीलाई खोजी गरेर कारबाही गर्न थालिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले बताए।

प्रकाशित: १ फागुन २०८१ १२:१८ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast