 
                             
                                            सुर्खेत- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशन २०८४ को चुनावअघि नै हुनुपर्ने बताएका छन्। सुर्खेतमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले २०८४ को चुनावपछि कांग्रेसको महाधिवेशन गरे पार्टीको अवस्था झन् नाजुक हुने भएकाले चुनावअघि नै गर्नुपर्ने बताएका हुन्।
कोइरालाले आफूले पनि पार्टीमा त्यही कुरा राखिरहेको बताए। उनले पार्टी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको कुरा पनि दोहोर्याए। कोइरालाले भने, ‘म पार्टी सभापतिको उम्मेदवार हुँ भनेर मैले पहिल्यै भनिसकेको छु।’ पार्टीको महाधिवेशन अवधि २०८२ मंसिरमा सकिने र संविधानले दिएरअनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्ने उनको जोड छ।
नेता कोइरालाले संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउने जस्ता सात बुँदा गरेर कांग्रेस र एमालेले सरकार गठन गरे पनि त्यसअनुसार काम हुन नसक्दा आफूले कांग्रेस सरकारमा सहभागी भए पनि खबरदारी गरिरहेको दाबी गरे। उनले अहिले देशको अवस्था जटिल भएको भन्दै कांग्रेस र एमालेले पनि सुशासन कायम गर्न, आर्थिक कठिनाइलाई सुधार ल्याउन र संविधान संशोधन गर्नेजस्ता काम गर्न सकेन भने जनताले नपत्याउने बताए।
कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेले सरकार गठन गर्नुपरेको भन्दै आफूले सरकारलाई खबरदारी गरिरहेको बताए। यस्तै उनले संघ सरकारले प्रदेश सरकारलाई अधिकार नदिँदा प्रदेश सरकार सक्षम बन्न नसकेको पनि बताए। कोइरालाले भने, ‘संविधानतः प्रदेशलाई दिनुपर्ने अधिकार संघीय सरकारले दिनुपर्छ। केन्द्रले अधिकार नदिँदा प्रदेश सरकार परनिर्भर बनेको छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 