 
                             
                                            काठमाडौँ- गत असारमा प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ का निर्माता तथा निर्देशकले ‘मितज्यू’ बनाउने भएका छन्।सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गदै सोमबार फिल्मको घोषणा गरिएको हो।
पोस्टरमा दुई पात्र सामान बोक्ने भ्यान अगाडि पञ्जा जुधाईरहेको देखाइएको छ। भ्यानमाथि खसी र खसीको टाउकोमा कुखुरा देख्न सकिन्छ। नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ पुष्प आले मगरले गरेका हुन्।
फिल्म अनिल बुढा मगरले निर्देशन गर्नेछन्। फिल्मका निर्माता जनक घर्ती मगर हुन्। यसअघि अनिलकै निर्देशन र जनकको लगानी रहेको फिल्म ‘घरज्वाइँ’ ले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। हलमा पनि ५१ दिन मनाउन सफल भएको थियो। बक्सअफिसमा हिट भएपछि सोही टिमले ‘मितज्यू’ निर्माण गर्न लागेका हुन्।
फिल्ममा महेश राईको कथा रहनेछ। फिल्मको छायांकन आगामी वर्षदेखि सुरु गर्ने टिमको तयारी छ। फिल्ममा कोको कलाकार रहने भन्ने टिमले सार्वजनिक गरेको छैन्। यसबारे केही दिनपछि जानकारी गराउने निर्माता जनक घर्ती मगरले बताए। टिमले छायांकन अगावै फिल्म आगामी वर्ष २०८२ साल चैत २७ मा प्रदर्शन गर्ने तयारीसमेत गरिसकेका छन्।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्नेछ। फिल्मका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्। फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 