कोरियाली भाषा पास गरेका ३० हजार नेपाली रोकिए

हिमाल प्रेस ९ फागुन २०८१ १४:३१ | Friday, February 21, 2025
कोरियाली भाषा पास गरेका ३० हजार नेपाली रोकिए

काठमाडौँ- कोरियाली भाषा परीक्षा गरेका ३० हजार नेपाली दक्षिण कोरिया जानबाट रोकिएका छन्। कोरियाले कामदार लैजाने प्रक्रियामा ढिलासुस्ती गरेपछि भाषा उत्तीर्ण गरेका ३० हजारभन्दा बढी परीक्षार्थी अलमलमा परेको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले कृषि, उत्पादन, वन, होटल र पानीजहाजका लागि भाषा पास गरेका ३० हजार कामदार कोरिया पठाउन ढिलासुस्ती भइरहेको बताए।

उनका अनुसार गत वर्ष भाषा परीक्षा पास गरेका १७ हजार ३० जनामध्ये तीन हजार बढीको सीप परीक्षाको नतिजा आएको छैन। ‘भाषा परीक्षा उत्तीर्ण भएका कामदार जाने प्रक्रिया सुस्त छ। भाषा पास गरेका कामदार छिट्टै लैजान शाखाले कोरियाको सम्बन्धित पक्षसँग आग्रह गर्दै आएको छ’, श्रेष्ठले भने। उनका अनुसार यसबारे कोरियाली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।

पानीजहाज कम्पनीको रोजगारीका लागि भाषा परीक्षा पास गरी छनोट भएका तीन हजार पाँच सयभन्दा बढी युवा एक वर्षदेखि कोरिया जाने पर्खाइमा छन्। उनीहरूको भिसा आउने टुंगो नभएको श्रेष्ठको भनाइ छ। पुसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत‌्सिंह भण्डारीले ईपीएस उत्तीर्ण भई रोस्टरमा रहेका सहित नेपाली कामदारलाई शीघ्र रोजगारीमा लैजान दक्षिण कोरियाली राजदूत थी पार्क ताई योङसँग आग्रह गरेका थिए।

उत्पादनमूलक क्षेत्रका लागि अघिल्लो वर्ष पुसमा भाषा परीक्षाको आवेदन खुलाएको दक्षिण कोरियाले यस वर्ष फागुन पहिलो साता बितिसक्दा परीक्षातालिका सार्वजनिक गरेको छैन। परीक्षातालिका सार्वजनिक नगर्दा भाषा अध्ययन गरिरहेका करिब ७० हजारभन्दा बढी विद्यार्थी अलमलमा परेका छन्। कोरियाले निर्माण क्षेत्रको रोजगारीमा पनि नेपाली लैजाने प्रचारप्रसार गरेपछि ठूलो संख्यामा नेपालीले कोरियाली भाषाको तयारी गरिरहेका छन्। अहिले कोरियाले निर्माण क्षेत्रमा कामदार लैजान चासो नदिएको शाखाका कर्मचारी बताउँछन्।

उत्तीर्ण भएकै संख्या लैजान धेरै बाँकी भएका कारण कोरियाले भाषा परिक्षा छिटो नखुलाएको शाखाको अनुमान छ। ईपीएसले सन् २०२५ देखि वर्षमा एकपटक मात्र भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। कोरियाले ई-सेभेन भिसामार्फत अन्य देशबाट कामदार लगिरहेको छ। जसका कारण नेपालबाट कामदार लैजान चासो नदेखाएको कामदारहरू बताउँछन्।

नेपाल र दक्षिण कोरियाबीच गत नोभेम्बरमा सकिएको द्विपक्षीय श्रम सम्झौता नवीकरण भएको छैन। सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो। हाल कोरियामा ७० हजारभन्दा बढी नेपाली कार्यरत छन्।

प्रकाशित: ९ फागुन २०८१ १४:३१ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast