खेती किसानी

काठमाडौँमै उखुखेतीमा जमेका ढकाल

रमेश भारती ८ फागुन २०८१ १९:१४ | Thursday, February 20, 2025
काठमाडौँमै उखुखेतीमा जमेका ढकाल

काठमाडौँ- काठमाडौँ शकरापुर नगरपालिका-१ ढकालगाउँका गोकुल ढकालले २० रोपनी बारीमा उखुखेती गरेका छन्। तीन वर्षअघि ढकालले जमिन बाँझो भएपछि उखुखेती थालेका थिए। अचेल ढकाल सखर बनाउन व्यस्त छ। तीन वर्षदेखि उनी उखुखेतीसँग हार्डवेयर सामग्रीको व्यापार पनि गर्दै आएका छन्। उखुको खुदो र सखर उत्पादन पनि ढकालका परिवारको व्यवसाय र आयस्रोतको माध्यम हो।

उनका आमाबुबा पहिला उखुबाट सखर बनाएर व्यापार गर्थे। घरमा चिनीको साटो सखर खाने पुख्र्याैली चलन रहेको ढकालले जानकारी दिए। ढकालले भने, ‘सखर बनाउने हाम्रो पुख्र्यौली पेसा हो। आमाबुबा पनि सखर बनाएर हाटबजारमा बेच्नुहुन्थ्यो। अहिले यसलाई व्यावसायिक रूपमा अघि बढाएका छौँ।’ उनका अनुसार बुबाआमाले यो काम गर्न छाडेपछि सखर उत्पादन रोकिएको थियो।

उखुखेतीबाट सबै खर्च कटाएर वार्षिक ७ लाख बचत हुने ढकालले बताए। शालीनदी मेलामा मात्र तीन दिनमा ७० हजारको उखु बिक्री गरेको ढकालले जानकारी दिए। साथै यसपटक १ हजार ५ सय केजी सखर उत्पादन भएको उनी बताउँछन्। तीन सयमा रुपैयाँ प्रतिकेजी सखर र दुई सय रुपैयाँ प्रतिकेजीमा खुदो बिक्री हुने गरेको ढकालले जानकारी दिए।

२०७२ सालको भूकम्पपछि सामान्य रूपमा उखुखेती गर्दै आए पनि तीन वर्षदेखि निरन्तरता दिएको ढकालले बताए। केही समय अन्य व्यवसायमा लागेपछि उखु खेती रोकिएको हो।

गाउँमा भएको जमिन बाँझै बस्न थालेपछि योजना बनाएर बाउबाजेले गरेको उखुखेतीतर्फ फर्किएको ढकाल बताउँछन्। आफूले सखर उत्पादन गर्न थालेपछि यस क्षेत्रमा अरूले पनि उखुखेती सुरु गरेको उनको भनाइ छ। उनको बारीमा उखुसँगै फूल पनि उत्पादन हुन्छ। फूल पनि वार्षिक दुई लाख रुपैयाँको व्यापार हुन्छ।

उनले भने, ‘उपभोक्ता माझ हाम्रो सखरको माग अत्यधिक छ। मागअनुसार उत्पादन गर्न अझै धेरै जमिनमा उखुखेती गर्नुपर्नेछ।’ उपभोक्ताले पनि शुद्ध सखर खान पाउने, स्थानीयले रोजगारी पाउने र केही आम्दानी हुने हुँदा यस पेसामा ढकाल खुसी छन्। उनले भने, ‘म अहिले सहरमा हार्डवेयर व्यवसायमा पनि सञ्चालन गरिरहेको छु। यही व्यवसायीसँगै कृषिकर्म पनि अघि बढाइरहेको ढकालले बताए। उनले भने, ‘कृषिमा आधुनिकता छैन। योजना बनाएर गाउँमा भएको बाँझो जमिनमा व्यावसायिक उखुखेती गर्न सकिन्छ। यसका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्छ।’

एक क्विन्टल उखुको रसबाट ७ किलोसम्म सखर निकाल्न सकिने ढकाल बताउँछन्। उखु पेल्नेदेखि सखर बनाउने सम्मको एक चरणको प्रक्रिया पूरा हुन कम्तीमा तीन घण्टा समय लाग्ने उनले जानकारी दिए।

योजना बनाएर उखुखेती गरेर स्वदेशमै युवाले रोजगारी र व्यवसायीको अवसर पाउने ढकालको बुझाइ छ। ढकालले उखु र फूलखेतीमा वार्षिक दुई सयजनाभन्दा बढीलाई मौसमी रोजगारी दिएको बताए।

चिनीको साटा सखर प्रयोग गर्दा स्वास्थ्यमा पनि फाइदा हुने उनीको भनाइ छ। नेपालमा विदेशी सखरको खपत धेरै भइरहेको ढकाल बताउँछन्। ढकालले तीनै तहका सरकारबाट अनुदान र सहयोग नपाएको बताउँछन्। सरकारले बजार र आधुनिक तालिम दिए उत्पादन बढाउन ठूलो सहयोग हुने उनले बताए।

प्रकाशित: ८ फागुन २०८१ १९:१४ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast