ओडिसामा नेपाली विद्यार्थीको ‘आत्महत्या’, नेपाल फर्काइए ५०० विद्यार्थी

हिमाल प्रेस ५ फागुन २०८१ १६:१६ | Monday, February 17, 2025
ओडिसामा नेपाली विद्यार्थीको ‘आत्महत्या’, नेपाल फर्काइए ५०० विद्यार्थी तस्बिर : ओडिसा टीभी डट इन

काठमाडौँ- भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ५०० भन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालय छाड्न निर्देशन दिइएको छ। बीटेकमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेपछि कलेज व्यवस्थापनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय छोड्न निर्देशन दिएको हो।

लम्सालले आत्महत्या गरेको केही घण्टा नबित्दै विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई विश्वविद्यालय छोड्न निर्देशन दिएको ओडिसा टीभी डट इनले जनाएको छ।

ओडिसा टीभी डट इनका अनुसार मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययनरत सबै नेपाली विद्यार्थीलाई छात्रावास छोड्न भनिएको छ। ती विद्यार्थीलाई विश्वविद्यालयको बस चढाएर कटक रेल्वे स्टेसनमा लगिएको र त्यहाँबाट उनीहरूलाई घर फर्कन भनिएको छ।

सोमबार विश्वविद्यालय रजिष्ट्रार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय नेपालका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनिश्चितकालका लागि बन्द गरिएको छ। उनीहरूलाई आज (१७ फेब्रअरी २०२५) मा तुरून्तै विश्वविद्यालय परिसर खाली गर्न निर्देशन दिइन्छ।’

विश्वविद्यालयको यो आकस्मिक निर्णयले नेपाली विद्यार्थीहरू अन्योलमा परेका छन्। यात्रा गर्न कुनै टिकट वा बसोबासको व्यवस्था नगरी घर फर्किन बाध्य पारिएपछि उनीहरू थप समस्यामा परेको ओडिसा टीभी डट इनले जनाएको छ। ‘हामीलाई कुनै रेल टिकट वा कुनै निर्देशन दिइएको छैन। हामीलाई बसमा हालेर कटक ल्याइयो र तुरुन्तै घर जान भनियो,’ एक नेपाली विद्यार्थीलाई उद्धृत गर्दै ओडिसा टीभी डट इनले जनाएको छ।

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले लगातार गर्दै आएको दुर्व्यवहार  सहन नसकेपछि बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेको बताइएको छ। गम्भीर मानसिक तनावको सामना गरिरहेकी उनले विश्विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सहयोग मागेकी थिइन्। विभागबाट कुनै सहायता नपाएपछि मानसिक दबाबका कारण उनले आत्महत्या गरेको विद्यार्थीहरूको आरोप छ। यो घटनापछि विश्वविद्यालय परिसरमा विरोध प्रदर्शनसमेत भएका छन्।

प्रकाशित: ५ फागुन २०८१ १६:१६ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast