उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण

हिमाल प्रेस १४ फागुन २०८१ १५:३२ | Wednesday, February 26, 2025
उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन्।

विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गराएका हुन्।

उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुंग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ।

उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ।

‘उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अंकलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ शर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरु सञ्चारमाध्याममा आइरहेका छन्। यसलाई गलत साबित गरी समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ,’ संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ।

ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा. बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्राडा. प्रकाशचन्द्र भट्टराई र प्राडा. हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एशोसिएट डिन डा. उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा. विजय केसी, एशोसिएट डिन डा. खगेन्द्र आचार्यलगायतको हस्ताक्षर छ।

त्यस्तै, स्कुल अफ मेडिकल साइन्सेज डिन प्राडा मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्राडा. उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्राडा. ऋशिकेश वाग्ले, एशोसिएट डिन डा. शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एशोसिएट डिनद्वय डा. श्यामसुन्दर खड्का र प्राडा. बालकृष्ण बलको हस्ताक्षर छ।

प्रकाशित: १४ फागुन २०८१ १५:३२ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast