 
                             
                                            पोखरा– आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जितेको छ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजकले पहिलो सहभागितामै उपाधि जितेको हो।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो। पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो।
पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो।
उपाधि विजेता आयोजकले ५ लाख ८५ हजार ५५५ रुपैयाँ र उपविजेता एपीएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा नगद पुरस्कार प्राप्त गरेका छन।
आइतबार नै पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल हुँदैछ। गत १२ माघदेखि सुरु भएको प्रतियोगितामा महिला र पुरुषतर्फ ६–६ टिमले भाग लिएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 