अध्यादेश पारित हुने अवस्था छैन : प्रचण्ड

हिमाल प्रेस २९ माघ २०८१ १८:३१ | Tuesday, February 11, 2025
अध्यादेश पारित हुने अवस्था छैन : प्रचण्ड फाइल तस्बिर।

सुर्खेत– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताए।

माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले जितेका स्थानीय तहमा कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिए।

‘स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनोटबमोजिम कार्यक्रम विकास गरेर अघि बढौँ। समुदायमा आधारित समाजवादलाई आधार मानेर हामीले जितेका स्थानमा काम गरौँ,’ अध्यक्ष प्रचण्डले भने।

उनले नेतृत्व कसैले चाहेर रातारात बन्ने कुरा नभएको र यो लामो संघर्ष, जनता, कार्यकर्ता र आदोलनको परिणाम रहेको बताए। उनले पार्टीको जीवनमा जनयुद्धकालदेखि नै अन्तरसंघर्ष र एकताको क्रम चल्दै आएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरूरी रहेको बताए।

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको अध्यादेश सदनलाई अवमूल्यन गरेर ल्याइएकाले पारित हुने स्थिति नरहेको बताए। ‘सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो। यसलाई अस्वीकार गरेका छौँ। बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन,’ उनले भने।

माओवादी केन्द्रको ध्यान हाल सरकारतिर नरहेको बताउँदै प्रचण्डले गलत कार्य भनेर हेरेर नबस्ने स्पष्ट पारे।

एक अर्को प्रसङ्गमा उनले पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पार्टी एकताका कुरा भइरहेको बताए।

प्रकाशित: २९ माघ २०८१ १८:३१ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast