परराष्ट्रमन्त्री देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई उडानका लागि आग्रह

हिमाल प्रेस ४ फागुन २०८१ १९:२० | Sunday, February 16, 2025
परराष्ट्रमन्त्री देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई उडानका लागि आग्रह
काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन्।आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागी हुन ओमनको मस्कटमा रहेकी उनीहरुबीच साइडलाइन भेट भएको हो।

भेटका क्रममा उनीहरुबीच नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो।

त्यसअवसरमा मन्त्री देउवाले नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत संयुक्त अरब इमिरेट्स सरकारलाई धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री सायेघले यूएईको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए।

उहाँहरुबीच दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।

मन्त्री देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरेको पनि उनको सचिवालयले जनाएको छ। मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी ‘मे’ मा काठमाडौँमा सगरमाथा संवाद आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनबारे केन्द्रित हुने सो संवादमा भाग लिन यूएईलाई पनि आमन्त्रण गरेकी छन् ।

प्रकाशित: ४ फागुन २०८१ १९:२० | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast