काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए।
प्राकृतिक विपद्का कारण बीपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा नागरिकले कष्टकर जीवनयापन गर्नु परेको उल्लेख गर्दै उनले भूकम्पबाट पीडित नागरिकले प्रभावकारी राहत पाउन नसकेको गुनासो गरे।
शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेकामा असन्तुष्टि जनाउँदै सांसद पाण्डेले संक्रमणकालीन न्यायसँग जोडिएका आयोग गठनमा किन ढिलाइ भएको हो? भन्ने प्रश्न गरे।
उनले महँगी नियन्त्रणमा सरकार चुकेको, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, सहकारीपीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको बताउँदै सरकार कतै देखिन नसकेको बताए।
संघीयता कार्यान्वयनसँग जोडिएका विधेयक लामो समयसम्म समितिमा रोकिँदा समस्या खडा भएको उल्लेख गर्दै उनले कसको कारणले जटिलता पैदा भएको हो भन्ने प्रश्न गरे।