काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन वर्तमान सरकार गठन भएको बताएका छन्। शुक्रबार संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कांग्रेस र एमालेबीच भएको सातबुँदे समझारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनले बताए। देउवाले सुशासनको प्रत्याभूति दिन र विकास निर्माण सरकारको मुख्य ध्येय रहेको उल्लेख गरे।
६ महिनाको अवधिमा सरकारको समग्र मूल्यांकन गर्न नहुने बताउँदै उनले वर्तमान सरकारले लक्ष्यअनुसार काम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
आर्थिक अवस्था उकास्न र व्यवसायिक वातावरण बनाउन सरकारले अध्यादेशमार्फत कानुनहरू ल्याएको उनले बताए। अध्यादेशमार्फत आएका कानुनहरूले देशमा सुशासन कायम गर्ने, सहकारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताउँदै देउवाले अध्यादेशहरू संसदबाट स्वीकृत हुने विश्वास व्यक्त गरे।
सभापति देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए। संविधानको कार्यान्वयनसँगै नागरिक सरोकारका थप विधेयकहरू संसदमा ल्याउन उनले सरकारसँग आग्रह गरे।
संविधान संशोधन गर्दा बहुलवाद, लोकतान्त्रिक व्यवस्था, समावेशितालगायतका कुरा कमजोर गर्न नहुने देउवाले बताए। उनले सबै दलको सहमतिमा संविधान संशोधन हुने प्रस्ट पारे।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउँदै उनले यसलाई थप सुदृढ बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।