उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूत म्योम्यिन्टमाउङको भेट

हिमाल प्रेस १७ माघ २०८१ २०:३३
8
SHARES
उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूत म्योम्यिन्टमाउङको भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा म्योम्यिन्टमाउङले उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुवै जनाबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवं सांस्कृतिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका थिए।

‘यो वर्ष हामी नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाइरहेका छौँ,’ उनले भने,‘हाम्रा दुई देशहरूबीचको वर्षौँ पुरानो सम्बन्ध, पारस्परिक सद्भाव, सम्मान, विश्वास र सहकार्यमा आधारित रहेमा दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक मूल्य मान्यताहरूले अझ मजबुत बनाएको छ।’

उपराष्ट्रपति यादवले दुई देशका परराष्ट्र मन्त्रालयबीच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना, कूटनीतिक र सरकारी पासपोर्टवाहकका लागि भिसा उन्मुक्ति दिने सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

उनले अति कम विकसित राष्ट्रहरूको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएका पनि बताए।

राजदूत म्योम्यिन्टमाउङले नेपाल र म्यानमार भगवान बुद्धलाई एकनासले सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्न मौका पाएकोमा खुसी लागेको उल्लेख गरे।

‘नेपाल र म्यानमारबीच जनस्तरको सम्बन्ध छ,’ उनले भने,‘नेपालको नन–अलायन्सजस्तै म्यानमारको पनि नीति रहेको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको नन–अलायन्स नीतिको म्यानमार प्रशंसा गर्दछ।’

नेपालको स्वतन्त्र विदेश नीतिलाई म्यानमारले सम्मान र प्रशंसा गरेको उनको भनाइ थियो।

प्रकाशित: १७ माघ २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast