पोखरा– पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश एलिमिनेटर राउण्डमा प्रवेश गरेको छ।
बिहीबार पोखरा रंगशालाको भलिबल कोर्टमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ सेटले हराउँदै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो।
पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गरेको हो। गण्डकीले २१–२५, २५–२१, २५–२२ र २६–२४ सेटले खेल जितेको हो।
गण्डकी ‘हार्ने समूह’ बाट शीर्ष ६ अंक प्राप्त गर्दै अब भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ। दुई खेलबाट एक अंक जोडेको भारतीय टिम तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो। पुरुषतर्फ ६ टिमले भाग लिएको प्रतियोगितामा हेल्प नेपाल र एपीएफ उपाधि होडबाट बाहिरिइसकेका छन्।
जित्ने समूहबाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिससँग पहिलो क्वालिफायरमा भेट सुनिश्चित भएको छ। भारतको सुनिल भलिबल क्लबलाई ३–२ सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो। आर्मीले २०–२५, २५–१८, २५–२३, २३–२५ र १५–१२ सेटमा जितेको हो।
बिहीबार महिलातर्फको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
न्यू डायमण्डले फाइनल प्रवेशका लागि एपीएफ र आयोजक टाइगर ग्रुपको पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
शुक्रबार महिला र पुरुष दुवैतर्फ पहिलो क्वालिफायर र शनिबार पुरुषतर्फ एलिमिनेटर खेल हुनेछ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी खेलको फाइनल खेल आइतबार हुनेछ।
महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख ८५ हजार रुपैयाँ पाउने छन्। उपविजेताले २ लाख ८५ हजार र तृतीयले १ लाख ८५ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।