‘स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक’

हिमाल प्रेस १७ माघ २०८१ १८:३२
8
SHARES
‘स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक’

काठमाडौँ– नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन्।

कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दास्रो दिनको दास्रो सत्रमा बोल्ने वक्ताहरुले राज्यको विभेदपूर्ण नीति परिवर्तन हुनुपर्ने बताएका हुन्।

सामूहिक छलफल कार्यक्रममा बोल्दै जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले समयअनुसार महिलाहरुले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताइन्। उनले भनिन्, ‘महिला उद्यमीले समयअनुसार परिस्थितिलाई सहजरुपमा सामना गर्ने क्षमता विकास गर्दै लैजानुपर्दछ।’

आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाले बताइन्। उनले भनिन्, ‘राज्यको पोलिसी महिलाको नाममाभन्दा पनि पुरुषको नाममा धेरै छ। सम्पत्ति भएका व्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ त्यसका साथै व्यावसाय पनि गर्दछ। त्यसकारण महिलामैत्री कानुन आवश्यक छ।’

त्यसैगरी विद्यालय शिक्षामा पनि उद्यमी बन्ने पाठ्यक्रम समावेश गर्नुपर्ने उनको राय थियो। अध्यक्ष थापाले महिलालाई उद्यमी बन्न प्रेरित गर्न राज्यले सहजीकरण गर्नुपर्ने समेत बताइन्।

बीआईडी नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन्। उनले भनिन्, ‘नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भए पनि काम गर्दै जाँदा चुनौती सामाना गर्ने क्षमता पनि हुने र मिहिनेत गरे सफलता असम्भव हुँदैन।’

पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रुपान्तरणमा योगदान गरिरहेकोसमेत उनले बताएकी छन्। उनले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने समेत बताइन्।

उनले थपिन्, ‘अहिले महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म आर्थिक रुपान्तरणमा योगदान गरिरहेको छ। अहिले महिला उद्यमीको सहभागिताले आफ्नो आन्तरिक खर्च धान्नका लागि केही न केही गर्दा अरुमा भर पर्नुपर्ने हुँदा सजिलो भएको छ।’

युजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन्। उनले भनिन्, ‘हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौँ सफल उद्यमीको रुपमा समेत परिचित हुनुहुन्छ।’

समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भनिन्, ‘महिलालाई उद्यमप्रति उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ तर महिलाहरु त्यसमा समावेश भएका छैनन्। महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ।’

त्यसैगरी एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले भनिन्, ‘मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्मो परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो। हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौँ।’

उनले नेपालमा सहज रुपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताएकी छन्। उनले भनिन्, ‘उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको छ।’

यो छलफल कार्यक्रमको सहजीकरण आर्थिक पत्रकारितामा लामो समयदेखि काम गर्दै आइरहेकी आशा थपलियाले गरेकी हुन्।

प्रकाशित: १७ माघ २०८१ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast