काठमाडौँ– मधेश केन्द्रित दलहरूले आठ सदस्यीय कार्यदल गठन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मधेश केन्द्रित दलहरूको संयुक्त बैठकले आठ सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा जसपाका इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीका शिवजी यादव र तमलोपाका ब्रजेश सिंह छन्।
मधेश केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यको मोडालिटी तयार पार्ने उद्देश्यले सबै दलबाट एक–एक जना रहने गरी आठ सदस्यीय कार्यदल गठन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए।
‘सबै पार्टीबाट एक–एक जना रहने गरी आठ सदस्यीय कार्यदल गठन भएको छ,’ झाले भने,‘कार्यदललाई सहकार्य, आगामी एजेण्डालगायतका विषयमा मोडालिटी तयार पार्ने जिम्मेवारी दिइएको छ।’
कार्यदलको बैठक बसेर चाँडै सहकार्यको खाका तयार पारिने उनले जानकारी दिए। कार्यदलले तयार पारेको खाका शीर्ष नेतृत्वसमक्ष प्रस्तुत गरेर अन्तिम रूप दिने बैठकले निर्णय गरेको छ।
वर्तमान सन्दर्भमा मधेश केन्द्रित राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्नेमा सबै जना सहमत रहेका बैठकमा सहभागी एक नेताले भने। उनले भने,‘जसरी सरकार अगाडि बढिरहेको छ, त्यसलाई हेर्दा सबै मधेश केन्द्रित दलहरू एक स्थानमा उभिनुपर्नेमा हामी सहमत भएका छौँ। तर, यो गति अलि मन्द देखिएको छ। यसलाई तीब्रता दिन जरूरी छ।’
सरकारले भनिरहेको संविधान संशोधन, निर्वाचनसम्बन्धी कानुनलगायतका विषयमा बलियो गरी प्रस्तुत हुन समान विचार भएका मधेश केन्द्रित राजनीतिक दलहरू एकै ठाउँमा उभिनुको विकल्प नभएको उनले बताए।
सरकारले संविधान संशोधन संशोधनको चर्चा सुरू गरेसँगै मधेश केन्द्रित राजनीतिक दलहरू सहकार्य र मोर्चाबन्दीको गृहकार्यमा जुटेका छन्। मधेशका मुद्दामा एकजुट भएर आवाज उठाउने र संविधान संशोधनमा एक ढिक्का हुने उद्देश्यका साथ मधेश केन्द्रित दलहरू मोर्चा निर्माणतर्फ अगाडि बढेका हुन्।
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) ले केही दिनअघि समान मुद्दामा सहकार्य गरेर अगाडि बढ्न मधेश केन्द्रित दलहरूलाई आह्वान गरेका थिए। त्यसक्रममा अध्यक्ष त्रिपाठीसहित जप्रपाका नेताहरूले मधेश केन्द्रित दलहरूसँग छुट्टाछुट्टै र संयुक्त छलफल गरेका छन्।
यसअघि मधेश केन्द्रित दलहरूको संयुक्त बैठक माघ १ गते बसेको थियो।
बिहीबारको बैठकमा जसपाकी रेणु यादव, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका लालबिर चौधरी, गंगा चौधरी, लोसपाका सवेन्द्रनाथ शुक्ल, लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सब्बिर हुसैन र तमलोपाका वृषेशचन्द्र लाल र डा।विजयकुमार सिंह सहभागी थिए।