मनाङका किसान सामूहिक खेतीमा

हिमाल प्रेस १७ माघ २०८१ १३:१६
10
SHARES
मनाङका किसान सामूहिक खेतीमा

मनाङ- किसान सामूहिक खेतीतर्फ आकर्षित भएका छन्। खेतीयोग्य भूमि कम रहेको स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताए।

‘मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ’,उनले भने,‘यसले हामीलाई उत्साहित बनाएको छ।’ उनका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन्। यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उनले बताए।

सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका-१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताए। उनले भने,‘बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ।’

सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउनसमेत सहयोग पुगेको उनको बुझाइ छ। हाल दुई वटा मिश्रित समूह छन् भने नौवटा महिलाका मात्रै कृषक समूह छन्। नासो गाउँपालिका-१ तालगाउँ, नासो-२ नाचे गाउँ, नासो-३ खोत्रोपाखा र निगालाघारी, नासो-४ ओडार गाउँ, चामे गाउँपालिका-२ थानचोक, चामे-१ तिमाङ, चामे-५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूहमार्फत सामूहिक खेती भइरहेको छ।

यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ। किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन्।

प्रकाशित: १७ माघ २०८१ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast