काठमाडौँ– अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। उनी उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन्।
बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन्। निर्वाचन समितिले जनाएअनुसार सापकोटाले ६८६ मत प्राप्त गरेका छन्।
त्यस्तै राईले ६१५ मत ल्याउँदा उपदेशकुमार यादवले ३१० र सुदिन पौडेलले १९२ मत ल्याएका छन्।
उनी हेडक्वार्टर निकट उम्मेदवार हुन्। उनलाई पार्टी उपमहासचिव शक्ति बस्नेतसहित पूर्वअध्यक्ष पन्चा सिंह लगायतको समर्थन थियो। उता दोस्रो बनेका हेमन्त भने उपमहासचिव जनार्दन शर्मा निकट हुन्।
विद्यार्थीको पदाधिकारीमा जनार्दननिकट हेमन्तको प्यानल आए पनि अध्यक्षमा हेडक्वार्टर निकट सापकोटा निर्वाचित बनेका हुन्।
९ उपाध्यक्षहरूमा अटल आचार्य (खुला), मदन ढकाल (खुला), विराज थापा (खुला), दीपा जैशी (खुला), ममता अधिकारी (महिला), सन्दीप पुन (जनजाति), कृष्णबहादुर सुनार (दलित), अभिमन्यु यादव (मधेशी) र उमेश कंडेल (खसआर्य) निर्वाचित भएका छन्।
महासचिवमा रोशन थापा मगर ६०१ मत ल्याएर निर्वाचित भएका छन्। त्यस्तै उपमहासचिव कोशीमा विपिन पोखरेल, मधेशमा गजेन्द्र यादव, बागमती निर्मला गौतम, गण्डकी भगवान बास्तोला, लुम्बिनी रेशम अधिकारी, कर्णालीमा प्रकाश अधिकारी, सुदूरपश्चिममा रामचन्द्र भट्ट, उपत्यका विशेषमा निरोज श्रेष्ठ र विश्वविद्यालयमा जटिल कार्की निर्वाचित भएका छन्।
त्यस्तै सचिव खुलातर्फ प्रेम जैशी (काका), वीरेन्द्र जीसी, शिशिर वस्याल र सम्झना राई निर्वाचित भएका छन्।
सचिव छात्रातर्फ तिर्सना आले मगर र समकृति पुन, जनजातितर्फ आर्टिष्ट मोक्तान, दलितर्फ आशा उपरकोटी, मधेशीतर्फ अमर मण्डल, खस आर्यतर्फ जितेन्द्र भण्डारी, सहिद सन्तति यन्छो हाङ्ग मावो र कोषाध्यक्षमा फुलमाया राना मगर निर्वाचित भएका छन्।