
काठमाडौँ– नेपाली कांग्रेसको आयोजनामा ललितपुरको सानेपामा बुधबार नेपाल स्टार्टअप र एसएमई सम्मेलन सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरणलगायतका विभिन्न ६ वटा विषयमा विभिन्न सत्रमा छलफल हुनेछ। सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक यार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरुको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनहरुको प्रचार–प्रसार एवम् बिक्रीमा वृद्धि गर्ने लगायत लक्ष्य राखिएको छ।
सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताए। उनले भने, ‘यस सम्मेलनले विभिन्न नवीन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्नेछ भने बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ।’
सभापति देउवाले नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा यो कार्यक्रममा छलफल हुने विश्वास मैले लिएको छु।’
गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको अवश्यकता भएको उल्लेख गर्दै सभापति देउवाले भने, ‘गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउँछ। पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ। युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन्।’
सभापति देउवाले थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिनेसमेत उल्लेख गरेका छन्। उनले भने, ‘यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ। व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ।’
उनले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको समेत जानकारी गराएका छन्।
देउवाले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग गठनको औचित्यबारे प्रस्ट पार्दै भने, ‘नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरूको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीको समस्या बुझी पार्टीलाई सुझाव दिन यो विभाग गठन गरिएको हो। उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नुपरेका कानुन तथा प्रक्रियागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको छ। यो कानुनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु।’
सभापति देउवाले सरकारले मुलुकको समुन्नतिका लागि सूचना प्रविधि क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताएका छन्। देउवाले सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेसमेत बताए।
विभागका संयोजक उर्मिला थपलियाले यस सम्मेलनले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रर्वधन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्। उनले भनिन्, ‘सम्मेलनले विभिन्न क्षेत्रका सिकाइ, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने र युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा पार्टीलाई समेत टेवा पुग्नेछ।’