महाकुम्भमा भागदौड, मृतकको संख्या सार्वजनिक नहुँदै मोदीले दिए समवेदना

हिमाल प्रेस १६ माघ २०८१ १२:५१
14
SHARES
महाकुम्भमा भागदौड, मृतकको संख्या सार्वजनिक नहुँदै मोदीले दिए समवेदना ‘मौनी औँसीका’ को अवसरमा बुधबार भारतको प्रयागराजस्थित गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगमस्थलमा पवित्र स्नान गर्न भेला भएका श्रद्धालु। तस्बिर : एएफपी/रासस

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तर प्रदेशमा पर्ने प्रयागराजमा भएको भागदौडमा ज्यान गुमाएका परिवारजनलाई समवेदना व्यक्त गरेका छन्। भारतीय अधिकारीहरूले भागदौडमा कति व्यक्तिको ज्यान गयो भनेर केही खुलाएका छैनन्। सञ्चारमाध्यमहरूले भने कम्तीमा १५ जनाको ज्यान गएको समाचार प्रसारण गरेका छन्। घटनामा कैयौँ श्रद्धालु घाइते भएको अनुमान छ। यद्यपि घटनामा भएको क्षतिको औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा एक्समा घटनालाई ‘अत्यन्त दु:खद’ भनेका छन्। उनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री मोदीले भनेका छन्, ‘यस घटनामा आफन्त गुमाएका श्रद्धालुहरूप्रति मेरो गहिरो समवेदना छ। साथै सबै घाइतेहरूको छिट्टै स्वास्थ्यलाभको कामना गर्दछु। स्थानीय प्रशासन पीडितहरूको मद्दत गर्न हरसम्भव प्रयास गरिरहेको छ। यस विषयमा मैले मुख्यमन्त्री योगीजीसँग कुराकानी गरेको छु र म निरन्तर राज्य सरकारसँग सम्पर्कमा छु।’

अफवाह नफैलाउन मुख्यमन्त्री आदित्यनाथको चेतावनी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराजमा जारी महाकुम्भ मेलाको अवस्था नियन्त्रणमा रहेको बताएका छन्। उनले मेलामा भएको भागदौडपछि केही व्यक्ति गम्भीर रूपमा घाइते भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमहरूले भने भागदौडमा कम्तीमा १५ जनाको ज्यान गएको हुन सक्ने आशंका गरेका छन्। मुख्यमन्त्री आदित्यनाथले भागदौडका विषयमा कुनै पनि प्रकारको अफवाह नफैलाउन चेतावनी दिएका छन्। उनले सञ्चारकर्मीसँग भने, ‘कसैले पनि नकारात्मक अफवाह नफैलाउनुहोला यसले हानि पुर्‍याउन सक्छ।’

उनले मेलामा प्रशासनले उत्कृष्ट व्यवस्था मिलाएको र स्थिति नियन्त्रणमा रहेको बताए। आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानदेखि चार पटक फोन गरी अवस्थाबारे जानकारी लिएको जानकारी आदित्यनाथले दिएका छन्। यसैगरी केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलले पनि घटनाबारे जानकारी लिइसकेका छन्।

योगी आदित्यनाथले प्रशासनले श्रद्धालुहरूको स्नानका लागि राम्रो व्यवस्था गरेको बताए। उनका अनुसार नाग बासुकी मोड र अखाडा मार्गमा श्रद्धालुहरूको भीड अत्यधिक छ। उनले भने, ‘श्रद्धालुको संख्या धेरै छ। करिब आठदेखि दस करोड श्रद्धालु कुम्भमा उपस्थित छन्। संगम क्षेत्रमा दबाब बढी छ।’

उनले राति करिब एकदेखि दुई बजेको बीचमा अखाडा मार्गमा अखाडाहरूको अमृत स्नानका लागि घेराबार लगाइएका बेला भागदौड भएको बताए। केही श्रद्धालुहरू घेराबार नाघ्न खोज्दा गम्भीर रूपमा घाइते भएको उनले बताए। योगी आदित्यनाथले भने, ‘प्रशासनले तुरुन्तै तिनलाई अस्पताल पुर्‍याएर उपचारको व्यवस्था गरेको छ।’

मुख्यमन्त्रीले सबैलाई संयम अपनाउन आग्रह गरेका छन्। उनले भने,’प्रशासन पूर्ण रूपमा सतर्क छ। म सबै प्रदेशवासी, देशवासी, श्रद्धालु र पूज्य सन्तहरूलाई कुनै पनि अफवाहमा विश्वास नगर्न आग्रह गर्दछु।’ उनले कुम्भ सबैको उत्सव भएकाले प्रशासन सेवा गर्न तत्पर रहेको बताए। उनले भने, ‘केन्द्र र राज्य सरकार पूर्ण रूपमा क्रियाशील छन्।’

मुख्यमन्त्री आदित्यनाथले मौनी ‍औँसीका अवसरमा श्रद्धालुहरूले पहिले स्नान गर्ने बताए। उनले यसबारेआफूले अखाडाहरूका प्रमुखहरू, महामण्डलेश्वरहरूसँग छलफल गरिसकेको जानकारी दिए। उनले भने, ‘सबै अखाडाहरू आमनागरिकलाई पहिले स्नान गर्न दिनुपर्छ भन्नेमा सहमत छन्।’

संगम क्षेत्रमा ठूलो मात्रामा सुरक्षा बल परिचालन गरिएको छ। प्रहरीले अखाडाहरूलाई दोस्रो अमृत स्नानका लागि मार्ग खोलिदिएको छ। डीआईजी वैभव कृष्णले भने, ‘सबै घाटहरूमा श्रद्धालुहरू शान्तिपूर्वक स्नान गरिरहेका छन्। बिहान ठूलो भीड थियो, जसका कारण केही अखाडाले भीडलाई व्यवस्थित गर्न आग्रह गरेका थिए। अहिले अवस्था नियन्त्रणमा छ। अखाडा र साधु-सन्तहरूको स्नानका लागि तयारी पूरा भएको छ।’

गान्धीले भने, भीआईपी संस्कृति र अव्यवस्था’ जिम्मेवार

कांग्रेस नेता राहुल गान्धीले प्रयागराज महाकुम्भमा भएको भागदौडमा लागि ‘भीआईपी संस्कृति र अव्यवस्था’ जिम्मेवार रहेको आरोप लगाएका छन्। लोकसभा विपक्षी नेता गान्धीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रयागराज महाकुम्भमा भागदौडका कारण धेरै श्रद्धालुको मृत्यु भएको र धेरै घाइते भएको खबर अत्यन्तै दु:खद छ। म शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्छु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

गान्धीले प्रशासनले सामान्य श्रद्धालुलाई बेवास्ता गरी भीआईपीहरूको आवागमनलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘यस दुर्घटनाको मूल कारण अव्यवस्था र आम श्रद्धालुहरूलाई भन्दा भीआईपीहरूलाई प्राथमिकता दिनु हो। महाकुम्भको अझै धेरै समय बाँकी छ। कैयौँ महास्नान हुन बाँकी छन्। सरकारले व्यवस्थामा सुधार नगरे यस्ता घटना फेरि दोहोरिन सक्छन्।”

उनलर्उ भीआईपी संस्कृति हटाउन र आम श्रद्धालुहरूको सुविधालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

महाकुम्भमा भागदौड, कम्तीमा १५ जनाको मृत्यु भएको आशंका

प्रकाशित: १६ माघ २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast