महाकुम्भमा भागदौड, कम्तीमा १५ जनाको मृत्यु भएको आशंका

हिमाल प्रेस १६ माघ २०८१ ९:१८
30
SHARES
महाकुम्भमा भागदौड, कम्तीमा १५ जनाको मृत्यु भएको आशंका भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला महोत्सवका क्रममा बुधबार राति भएको भागदौडमा घाइते तीर्थयात्रीलाई उद्धार गर्दै सुरक्षाकर्मी। तस्बिर : एएफपी/रासस

काठमाडौँ- भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा  भागदौड मच्चिएको छ। बुधबार राति करिब डेढ बजे भएको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रयागराज सिटीका एक डाक्टरले नाम नबताउने सर्तमा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। ती डाक्टरका अनुसार भागदौडमा परी धेरै मानिस घाइते भएका छन्। प्रशासनले भने यसबारे कुनै जानकारी दिएको छैन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन गरी अवस्थाको जानकारी लिएका छन्। मुख्यमन्त्री कार्यालयले भने कुनै अफवाहमा नफस्न अपिल गरेको छ। उत्तर प्रेदशका मुख्यमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘प्रशासनको निर्देशन पालना गर्नुहोस्। कुनै पनि अफवाहमा ध्यान नदिनुहोस्। श्रद्धालुहरू जहाँ हुनुहुन्छ, त्यही घाटमा स्नान गर्नुहोस्।’

औँसीका अवसरमा मंगलबार रातिदेखि अमृत स्नान चलिरहेको थियो। सोही क्रममा घटना भएको समाचारमा उल्लेख छ। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक भीडले अवरोध तोड्दै घाटमा बसेका मानिसलाई कुल्चिएको थियो। प्रयागराज मेला प्राधिकरणकी ओएसडी आकांक्षा राणाले पत्रकारहरू भनिन्, ‘केही स्थानमा घेराबार टुटेको खबर आएको छ। जसले भागदौडको स्थिति सिर्जना गर्‍यो तर गम्भीर अवस्था छैन।’

संगममा उपस्थित साध्वी तथा केन्द्र सरकारकी पूर्वमन्त्री साध्वी निरञ्जन ज्योतिले घटनाप्रति दुःख व्यक्त गर्दै हालका लागि अमृत स्नान रद्द गरिएको जानकारी दिएकी छिन्।

यसका लागि अखाडा परिषद्को बैठकपछि मात्र आगामी निर्णय लिइने बताइएको छ। अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘जनताको हितलाई ध्यानमा राख्दै अखाडाहरूले आज स्नान नगर्ने निर्णय गरेका छन्’, उनले भनेका छन्।

संगममा भागदौडजस्तो स्थिति सिर्जना हुँदा धेरै व्यक्ति विशेषगरी महिला तथा बालबालिका घाइते भएका थिए। परिवारका सदस्यहरू हराइरहेका आफन्तहरूको खोजीमा अस्थायी अस्पतालबाहिर लाइनमा उभिएका छन्। उद्धारकर्मीहरू घाइतेहरूलाई सहायता गरिरहेका थिए। यसैगरी प्रहरी भीड नियन्त्रण गर्ने प्रयासमा थियो। भागदौड भएको स्थानमा मानिसका लुगा, कम्बल र झोला छरपस्ट थिए।

‘तपाईंहरूले बिहान के भयो भन्ने देख्नुभएको होला, त्यसैले हामीले निर्णय गरेका छौँ, हाम्रा सबै सन्तहरू स्नानका लागि तयार थिए तर हामीलाई यो घटनाबारे जानकारी गराइयो। यही कारणले हामीले मौनी अमावस्याको स्नान नगर्ने निर्णय गरेका छौँ,’ पुरीले पीटीआईसँग भनेका छन्।

घटनाको वास्तविक कारण के थियो र कति जना घाइते भए भन्ने तत्काल स्पष्ट भएको छैन। छ हप्तासम्म चल्ने यस महाकुम्भ महोत्सवअन्तर्गत बुधबार पवित्र दिन हो। जसमा अधिकारीहरूले १० करोडभन्दा बढी भक्तजनले गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने अपेक्षा गरेका थिए। उत्तर प्रदेश सरकारको अनुमानअनुसार मौनी अमावस्याको अघिल्लो दिन झण्डै ५ करोड भक्तजनले मेलामा स्नान गरेका थिए।

घटना कसरी भयो?

दिल्लीबाट प्रयागराजमा पुगेका श्रद्धालु उमेश अग्रवालले बीबीसीसँग भनेका छन्, ‘जब मानिसहरू स्नान गर्न जान्दै थिए, त्यतिबेला घेराबार नजिक धेरै मानिस सुतिरहेका थिए। ती मानिससँग अड्किएर केही श्रद्धालु लडे। अनि पछाडि आएका मानिसको भीड एक आपसमा लड्दै जान थाल्यो।’

कर्णाटककी विद्या साहू नामक श्रद्धालु स्नान गर्न संगमतिर जाँदै थिइन्। तर अचानक पछाडिबाट आएको भीडले उनलाई पछाडि तान्न थाल्यो। उनले भनिन्,’म ६० जनाको समूहसँग यात्रा गर्दै थिएँ र मेरा पाँच साथीहरूको अवस्था अझै थाहा छैन। प्रशासनले मलाई एम्बुलेन्सको सहयोगले अस्पताल पुर्‍याएको छ।’

अर्का श्रद्धालु जयप्रकाश स्वामी आफ्ना आमाबाबु र बच्चासँगसँगै भागदौडमा परेका थिए। उनले भने, ‘भीड एकाएक बढेको थियो र मानिसहरू मैमाथि चढ्दै जान थाले।’

भारतको चित्रकूटबाट स्नान गर्न पुगेका इन्द्रपालले आईएएनएससँग भनेका छन्, ‘मलाई संगमको तट नजिक रोकिएको थिएँ। त्यसपछि भागदौड मच्चियो जसका कारण उनका एक आफन्त बेपत्ता भए।’

उनले आफन्तको खोजीमा घटनास्थलतिर जाँदा केही शव भेटिएको दाबी गरे। समाचार एजेन्सी पीटीआईसँग प्रत्यक्षदर्शी एक महिला श्रद्धालुले भनिन्, ‘त्यहाँ अचानक भगदौड मच्चियो। जाने आउने कुनै मार्ग थिएन। हामी जसबाट मद्दत मागिरहेका थियौँ, उनीहरू हाँसिरहेका थिए। हामी आफ्ना बच्चासँग भीख मागिरहेका थियौं। धेरै बच्चाहरू गम्भीर अवस्थामा छन्।’

मध्य प्रदेशको छतरपुरबाट पुगेका एक श्रद्धालुले आफ्नी आमा भगदौडमा घाइते भएको जानकारी दिए। उनले भनेका छन्, ‘त्यहाँ कुनै प्रहरी थिएन। मद्दतका लागि कोही आएका थिएनन्। कम्तीमा ४० जना घाइते भएका छन्। मेरी आमाको अवस्थासमेत थाहा छैन।’

प्रकाशित: १६ माघ २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast