एन्फा महिला लिग : ‘डर्बी’ भिडन्तबाट चुनिँदैछ च्याम्पियन

हिमाल प्रेस १६ माघ २०८१ ८:१२
6
SHARES
एन्फा महिला लिग : ‘डर्बी’ भिडन्तबाट चुनिँदैछ च्याम्पियन

काठमाडौँ- एन्फा महिला लिगको उपाधि भिडन्त आज (बुधबार) टुंगो लाग्दैछ। उपाधिका लागि दुई विभागीय डर्बी टिम आमनेसामने हुँदैछन्।  साबिक विजेता एपीएफ र नेपाल पुलिस क्लब दशरथ रंगशालामा भिड्दैछन्।

रंगशालामा यी दुई टोली दिउँसो २ बजे भिड्ने एन्फाले जनाएको छ। यसअघिका लिग चरणका सबै खेल एन्फा कम्प्लेक्समा भएका थिए। आज भने खेल रंगशाला सरेको छ।

एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। खेलको ७८औं मिनेटसम्म १–० को अग्रता लिएको आर्मीले लगातार दुई गोल बेहोर्दै फाइनल खेल्ने अवसर गुमाएको थियो।

एपीएफलाई लगातार लिगको फाइनलमा पुर्‍याउन स्ट्राइकर रश्मिकुमारी घिसिङले १० मिनेटमा दुई गोल गरेकी थिइन्। रश्मि लिगको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले ३५ गोल गरिसकेकी छन्। मंगलबार हुने फाइनलमा खेलमा पनि एपिएफले उनीबाट यस्तै नतिजाको आश गरेको छ। पुलिसले भने संघर्षपूर्ण जितसहित फाइनलमा स्थान बनाएको हो।

इलिमिनेटरमा दोस्रो हाफको इन्जुरी समय सकिन ११ मिनेट बाँकी रहँदा अमृता जैशीले गरेको गोलले नै पुलिसलाई दोस्रो क्वालिफायरमा पुर्‍याएको थियो।

बागमती युथ क्लबसँग त्यो १–० को कठिन जित निकाले पनि पुलिसलाई फाइनल प्रवेश गर्न आर्मीसँग भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्‍यो। जसमा गोलकिपर उषा नाथ निर्णायक बनिन्।

उनले गोल मात्रै गरिनन् चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकको प्रहार रोक्दै पुलिसलाई फाइनलमा पुर्‍याएकी हुन्। एपिएफ र पुलिस लिगमा तीनपल्ट भिडेका छन्।

लिगचरणमा गोलरहित बराबरीमा रोकिए पनि फाइनल चरणमा भने एपीएफ हाबी भएको थियो। दुईपल्टको भेटमा एपिएफ ६–० र २–० ले विजयी भएको थियो। पुलिस चौथोपल्टको भेटमा जितको खोजीमा हुँदा एपीएफ भने पुलिसलाई रोक्दै लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ।

प्रकाशित: १६ माघ २०८१ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast