
काठमाडौँ- ३ दिन रोकिएको अखिल क्रान्तिकारीको मतगणना सोमबार रातिबाट फेरि चल्दैछ। गन्न बाँकी ५२२ मत पार्टीको हेडक्वाटर पेरिसडाँडामा गणना सुरु भएको हो।
मतपत्रमा विभिन्न मसी लगाइएको भन्दै गत आइतबार बिहानदेखि गैरभौगोलिक दुई प्रदेशको मतगणना रोकिएको थियो। मंगलबार राति १० बजे अध्यक्षका चारै उम्मेदवारसहित निर्वाचन समिति, फ्याक्सन इन्चार्जसहित छलफल गरेर मसीको विवाद नगर्ने खसेको मतपत्र सबै गणना गर्ने समझदारी भएको हो।
नयाँ नेतृत्वका लागि माघ १२ गते मतदान भएको थियो। सोही दिन बेलुकादेखि मतगणना सुरु पनि भयो। सात प्रदेशको नतिजा भने सार्वजनिक भइसकेको छ। अब गैरभौगोलिक २ प्रदेशअन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठको मतदान केन्द्रमा खसाइएको ५२२ मत मात्र गन्न बाँकी छ।
क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा, हेमन्त राई, सुदीन पौडेल र उपदेश यादव उम्मेदवार छन्।