दुर्गानन्द झा : ज्यान दिए, महेन्द्रसामु झुकेनन्

धैर्यकान्त दत्त १५ माघ २०८१ १२:४८
68
SHARES
दुर्गानन्द झा : ज्यान दिए, महेन्द्रसामु झुकेनन्

काठमाडौँ- आज माघ १५। तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउने सपना देखेका दुर्गानन्दलाई २१ वर्षको उमेरमा मृत्युदण्ड दिइएको थियो। लोकतन्त्र र गणतन्त्रका लागि सहादत दिएको भन्दै दुर्गानन्दप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष माघ १५ मा बलिदानी दिवस मनाइन्छ।

दुर्गानन्दको जन्म धनुषाको जटही हाल नगराइन नगरपालिकामा १९९४ वैशाख १४ गते भएको थियो। बुबा देवनारायण झा र आमा सुकुमारीदेवी झाका एकमात्र छोरा थिए उनी। सानै उमेरदेखि क्रान्तिकारी स्वाभावका दुर्गानन्दलाई मुलुकमा राजाको होइन जनताको शासन हुनुपर्ने लागेको थियो। यही सोचका साथ उनी कलिलै उमेरमा पञ्चायतविरोधी आन्दोलनमा होमिए।

पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले जबरजस्ती पञ्चायत लादेको भन्ने कुरा उमेरले कलिलै भए पनि दुर्गानन्दले बुझिसकेका थिए। भारतका स्वतन्त्रता सेनानी भगत सिंह र चन्द्रशेखर आजादको सिद्धान्त र व्यवहारले उनलाई प्रभावित गरेको थियो। भगत र चन्द्रशेखरले भारतलाई अंग्रेज शासकको उपनिवेश हटाउन खेलेको भूमिकाले हौसाएको थियो, दुर्गानन्दलाई।

विद्यालयमा पढ्दै गर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए उनी। विद्यालयको पढाइ सकेर उच्चशिक्षाका लागि भारततर्फ लागे। त्यस बेला नेपालमा उच्च शिक्षा अध्ययनका लागि खासै राम्रो व्यवस्था भइसकेको थिएन।

भारतमा अध्ययन गरिरहँदा उनको सम्पर्क नेपाली कांग्रेसका नेताहरूसँग भयो। कांग्रेसका तत्कालीन नेताहरू भारतमा बसेर राजा महेन्द्रविरुद्ध तानाबाना बुनिरहेका थिए। सुरुमा निर्वासित जीवन बिताइरहेका महोत्तरी कांग्रेसका जिल्ला सचिव ज्ञानीशंकर गिरीसँग उनको सम्पर्क भयो।

त्यसपछि गिरीले दुर्गानन्दलाई त्यसबेलाका विघटित संसदका सदस्य सरोज कोइरालासँग उनको भेट गराए। क्रान्तिकारी स्वभावका सरोजसँगको भेटपछि दुर्गानन्दको जीवनमा नयाँ मोड आएको बताइन्छ। कांग्रेस नेताहरुको संगतले क्रूर पञ्चायती शासनविरुद्ध संघर्ष गर्न थप ऊर्जा प्रदान गर्‍यो, दुर्गानन्दलाई।

२०१७ साल पुस १ गते बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेका महेन्द्रप्रति उनको आक्रोश छँदै थियो। संयोगले जानकी मन्दिर दर्शन गर्न महेन्द्र जनकपुर आउने खबर दुर्गानन्दले थाहा पाए।

कांग्रेस नेताहरूको योजनाअनुसार दुर्गानन्द २०१८ माघ ८ गते बम बोकेर जनकपुर पुगे। ९ माघमा जनकपुर पुगेर जानकी मन्दिरमा पूजाअर्चना गर्ने महेन्द्रको कार्यक्रम उनले जानकारी पाएका थिए।
तत्कालीन राजा महेन्द्र आउने भएपछि जनकपुरको सुरक्षाव्यवस्था कडा पारिनु स्वाभाविक थियो। तर सुरक्षा व्यवस्थाको थोरै पनि पर्वाह थिएन हिम्मती र साहसिक दुर्गानन्दलाई। बम बाकेर जानकी चोकमा महेन्द्रलाई कुरेर बसिरहेका थिए, उनी। सुरक्षा निकायका खुफिया पनि बेखबर थिए, बम फ्याल्ने उनको यो योजनाबाट।

साँझ ५ राजा महेन्द्र चढेको ल्यान्डरोभर गाडी रोकिनसाथ दुर्गानन्दले बम प्रहार गरे। गाडीमा क्षति पुग्यो। तर महेन्द्र सुरक्षित रहे। दुर्गानन्दले अर्का कांग्रेसी साथी अरविन्द ठाकुरसँग मिलेर जनकपुर विमानस्थलमै महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए। राजा महेन्द्रमाथि बम प्रहार गर्ने जिम्मेवारी अरविन्दलाई दिइएको थियो।

कुनै कारणवश विमानस्थलमा बम प्रहार गर्ने योजना विफल भए दुर्गानन्दले दर्शनका लागि जानकी मन्दिर पुग्न महेन्द्रमाथि बम फ्याल्नुपर्ने थियो। अरविन्द विमानस्थलबाटै पक्राउ परे। अरविन्दको योजना सुरक्षा निकायले थाहा पाइसकेको थियो। विमानस्थलको योजना विफल भएको जानकारी पाएपछि दुर्गानन्दले महेन्द्रमाथि जानकी मन्दिरमा बम फ्यालेका थिए।

राजा महेन्द्रमाथि बम प्रहार गरे पनि तीक्ष्ण र फुर्तिलो स्वभावका दुर्गानन्दलाई प्रहरीले पक्राउ गर्न सकेन। उनी पुनः भारत पुग्न सफल भए। तर बमकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले ५९ जनालाई पक्राउ गरेको थियो।

बमकाण्डमा निर्दोष मानिसहरूलाई पक्राउ गरी प्रहरीले कुटपिट तथा यातना दिइरहेको उनले भारतमै थाहा पाए। यो कुरा उनले सहन सकेनन्। तीन महिनापछि भारतको जयनगरबाट जनकपुर फर्किँदै गर्दा परवाहा स्टेसनबाट पक्राउ परे।

पक्राउ परेको दोस्रो दिन महोत्तरीको प्रकौलीस्थित सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट दुर्गानन्दलाई काठमाडौँ पुर्‍याइयो। २०१९ भदौ १९ गते कुनै सुनवाइ नगरी विशेष अदालतले दुर्गानन्दलाई मृत्युदण्ड दिने फैसला सुनायो।

त्यतिबेलाका प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासले फैसला सुनाएको थियो। २०१९ फागुन २० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको संयुक्त इजलासले फैसलालाई सदर गर्‍यो।

सर्वोच्चले फैसला सदर गरेको एक वर्षपछि २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरिएको थियो। दुर्गानन्दलाई फाँसी दिने फैसला अदालतले सुनाए पनि तत्कालीन राजा महेन्द्रको ठाडो आदेशले दुर्गानन्दलाई गोली हानेर हत्या गरिएको थियो। गोली हानेर हत्या गरिएका दुर्गानन्दको उमेर २१ वर्षमात्र थियो।

त्यतिबेला ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्था मुलुकी ऐनले गरेको थियो। ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्थाकै कारण १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड नदिई आजीवन कारावासको सजाय सुनाइएको स्वर्गीय वरिष्ठ पत्रकार राजेश्वर नेपालीले आफ्ना आलेखमा उल्लेख गरेका छन्।

दुर्गानन्दलाई मृत्युदण्ड दिनैपर्ने महेन्द्रको अडानका कारण मुलुकी ऐन संशोधन गरियो। २०२० भदौ १ मा मुलुकी ऐनमा संशोधन गरेर दुर्गानन्दलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

मृत्युदण्ड दिइनुभन्दा पाँच दिनअघि माघ १५ गते दुर्गानन्दकी आमा सुकुमारी र श्रीमती काशीदेवी झालाई जनकपुरबाट काठमाडौँ लगिएको थियो। ‘दुर्गानन्दलाई मृत्युदण्ड दिने तयारी हुँदा आमा र श्रीमती दुवैजना कारागारको गेटमै उभिरहेका थिए’, नेपालीले उल्लेख गरेका छन्।

मृत्युदण्ड दिइनुभन्दा केही दिनअघि दुर्गानन्दले आफ्ना साथी अरविन्द र दलसिंह थापालाई भनेका थिए, ‘म अब कलिल्यै नफर्किने गरी लामो यात्रामा जाँदै छु। तर चिन्ता नलिनुस् मुलुकमा गणतन्त्र अवश्य आउनेछ।’

६ दशकअघि दुर्गानन्दले देखेको सपना अहिले पूरा भएको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ। क्रूर पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान दिएका दुर्गानन्दलाई सहिद घोषणा गर्न सरकारलाई ५२ वर्ष लागेको थियो।

२०७२ सालमा नेपाल सरकारले उनलाई सहिद घोषणा गर्‍यो। दुर्गानन्द नेपालको पहिलो गणतान्त्रिक सहिदको नामले समेत चिनिन्छन्।

२०४६ सालको पहिलो जनओन्दोलनपछि मुलुकमा प्रजातन्त्र आइसकेपछि जानकी मन्दिर परिसरमा रहेको राजा महेन्द्रको सालिक रहेको स्थानमा दुर्गानन्दको प्रतिमा राख्न सरकारले प्रस्ताव गरेको थियो।

तर तत्कालीन राजा वीरेन्द्रले सरकारको यो प्रस्तावलाई अस्वीकार गरेको बताइन्छ। यद्यपि आन्दोलनकै क्रममा आन्दोलनकारीले महेन्द्रको सालिक जानकी मन्दिर परिसरबाट तोडिदिएका थिए।

मुलुकमा गणतन्त्र ल्याउन आफ्नो ज्यान गुमाएका दुर्गानन्दकी श्रीमती काशीदेवीलाई पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिक कोटाबाट सभासद बनाउनुबाहेक राज्यले अरू केही गरेको छैन।

प्रकाशित: १५ माघ २०८१ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast