‘थाङ्ने गफमा लटपटिएर’ सकियो राप्रपा बैठक

किरण पौडेल १५ माघ २०८१ १४:१६
32
SHARES
‘थाङ्ने गफमा लटपटिएर’ सकियो राप्रपा बैठक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाबीच विवाद बढेको छ। यी दुई कुनै बेला एउटै गुटमा रहेका नेता हुन्। अघिल्लो कार्यकालमा उनीहरूले एउटै प्यानलबाट अध्यक्ष र महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए।

विवाद राप्रपाको माघ ११ देखि १३ सम्म बसेको तीनदिने बैठकमा छताछुल्ल भएको नेताहरूले बताएका छन्। राप्रपामा लिङ्देनको कार्यकाल सकिन झन्डै एक वर्ष बाँकी छ। अब पार्टी महाधिवेशन प्रक्रियामा जानुपर्नेछ। यही कारण पनि राप्रपामा गुट विभाजन क्रम चलेको नेताहरूको बुझाइ छ।

कहिले लिङ्देनलाई खुइल्याउने त कहिले राणालाई गाली गर्ने प्रक्रिया चल्दाचल्दै बैठक सकिएको केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दीपक सिंहले बताए। उनले भने, ‘बैठकमा लिङ्देन र राणाबीच भनाभनसमेत भएको थियो।’ बैठकमा सहभागी नेताहरूले अध्यक्ष लिङ्देन र महामन्त्री राणालाई गालीगलौजमा नउत्रन र आपसमा मिलेर संगठनलाई बलियो बनाउन अनुरोध गरेको सिंहले जानकारी दिए। सिंहका अनुसार राणालगायतलाई पूर्वगणतन्त्रवादी आरोप लगाउनेदेखि ‘तल्लो स्तरको लाञ्छना लगाउने’ सम्म भएको थियो।

लिङ्देन-राणा विवाद बढ्ने सम्भावना पूर्वअनुमानित रहेको नेताहरू बताउँछन्। राणा बिरामी भएका बेला लिङ्देनले संगठन विभागको प्रमुख खोसेका थिए। यसबारे राणाले जबाफ खोज्ने निश्चित थियो। पहिलो कुरा त लिङ्देनले बनाएको राजनीतिक प्रतिवेदनमै राणाले ‘काउन्टर’ दिएका थिए।

राणाले प्रतिवेदनमार्फत लिङ्देनलाई राजसंस्था र हिन्दु अधिराज्यसहितको लक्ष्य प्राप्ति उन्मुख नभएको भन्दै आलोचना गरे। उनले इमानदार भएर लिङ्देन नेतृत्वको लेखाजोखा गर्नुपर्ने बताए।
बैठकमा राणाले भनेका थिए, ‘महाधिवेशनलगत्तै छ महिनाभित्र समान विचारधारा भएका दल, समूह, संस्था र व्यक्तिलाई एकताबद्ध गर्दै राजसंस्था, हिन्दु अधिराज्यलगायतका लक्ष्य प्राप्त गरिन्छ भन्ने नेतृत्वको सार्वजनिक प्रतिबद्धता आज कहाँ पुग्यो? इमानदार भएर लेखाजोखा गर्नुपर्छ।’

राणाले पार्टीले गति नलिएको र विधानको पालनासँगै कार्यान्वयन नभएको भन्दै अध्यक्ष लिङ्देनप्रति असन्तुष्टि पोखेका थिए। त्यसले पार्टी पङ्क्तिलाई चिन्तित तुल्याएको उनको भनाइ छ। ‘एकता महाधिवेशनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ गति लिन्छ, गुणात्मक फड्को मार्छ। विधानको पालना र कार्यान्वयनमा आन्तरिक प्रजातन्त्र सुदृढ हुन्छ भन्ने आमअपेक्षा रहे पनि एकपछि अर्को समस्याले गर्दा पार्टीपङ्क्तिमा चिन्ताको सञ्चार भएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

पार्टी महाधिवेशनको कार्यादेश, पार्टीको घोषित नीति र लक्ष्य कार्यान्वयनमा समेत शिथिलता देखिएको छ। एकता महाधिवेशनको मर्म र भावनाअनुरूप पार्टीलाई एक ढिक्का राख्न अध्यक्ष लिङ्देनमा नयाँ सक्रियता र सत्प्रयासको अभाव देखिएको राणाले बताएका छन्।

राणाले पार्टीभित्र आन्दोलनको तयारी र कार्यान्वयनमा गम्भीर व्यवधान देखिएको बताएका छन्। उनले ती व्यवधान के हुन्? खुलाएका छैनन्। योसँगै उनले सदनमा समेत राप्रपाको भूमिका प्रभावकारी हुन नसकेको बताए। यसले पार्टीप्रति अनेक प्रश्न उब्जाएको भन्दै राणा  चिन्तित देखिएका छन्।

लिङ्देन कमजोर बनेपछि राणालाई ‘गणतन्त्रवादी’ ट्याग

पहिलो दिनको बैठकमा राणा पक्षले लिङ्देनलाई पेल्यो नै। राणाका पक्षमा जनक पाठक, प्रेम बलायर, रञ्जन कार्की, प्रवीण थोकर, निरञ्जन थापा, शशि सिलवाल, मीना स्वर्णाकार, विश्वमोहन थापा, उदय पोखरेल, नानीमैया आचार्य, रामराज कोइराला, धनसुर शाही, युवराज घिमिरे, लालकुमार लामा, इनु अधिकारी, मीना सुवेदी, सूर्यबहादुर सिंह, गोपाल पौडेल, ऋषि देवकोटा, जगत गौचन, समृद्धि राणाले तर्क गरे।

दोस्रो दिन र तेस्रो दिनको बैठकमा फेरि लिङ्देन पक्षधर बलियो गरी प्रस्तुत भएका थिए। राप्रपा सहमहामन्त्री धनबहादुर बुढाले गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरे।

पार्टीका सहमहामन्त्री प्रकाश रिमालले लिङ्देनको नेतृत्व आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुनः टुटफुटको शृंखलामा धेकेल्ने प्रयास भएको दाबी गरे।
महामन्त्री राणाले विचारपत्रमा पार्टी सरकारमा किन गएको भन्ने प्रश्न औँल्याएपछि उनी आफैँसमेत सहभागी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयले प्रचण्ड सरकारमा जाने निर्णय गरेको स्मरण गर्दै रिमालले त्यसमा ‘नोट अफ डिसेन्ट’ किन नलेखेको भन्दै प्रतिप्रश्न गरे।

महामन्त्री राणाले आफ्नो विचारपत्रमा पार्टीले हालै खुल्ला आवेदनमार्फत पार्टीमा भित्र्याएका २० जना ४० वर्षमुनीका केन्द्रीय सदस्य ल्याउने प्रक्रियालाई दुष्कर्मको संज्ञा दिएपछि अधिकांश केन्द्रीय सदस्यले त्यसको विरोध गरेका छन्।

पार्टीका केन्द्रीय सदस्य उद्धवराज भेटवालले नयाँ केन्द्रीय सदस्य बनाउने प्रक्रियालाई महामन्त्रीले दुष्कर्मको संज्ञा दिएको भन्दै त्यो शब्द फिर्ता लिएर युवासमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरेका थिए।

अनि लिङ्देनले दिए पद फर्काउने आश्वासन

पहिलो दिन संगठन विभागको प्रमुखबाट राणालाई हटाएकोमा लिङ्देनमाथि प्रश्न उठेको थियो। राणा क्यान्सरको उपचारका लागि भारत गएका बेला लिङ्देनले अर्का नेता ध्रुवबहादुर प्रधानलाई पद दिएका थिए।

बैठकमा आलोचना भएपछि लिङ्देनले पद फर्काउने आश्वासन दिए। यसअघि बोल्ने लिङ्देन पक्षधर नेताले भने विभागको जिम्मेवारी हेरफेर गर्ने अधिकार अध्यक्षलाई रहेको बताए। अर्की महामन्त्री कुन्ती शाही पनि राणाकै पक्षमा उभिएकी थिइन्। महामन्त्रीमा पराजित रेखा थापाले आफू सुत्केरी भएका बेला लिङ्देनले आरोप लगाएको गुनासो पोखेकी थिइन्।

थापाले राणाको स्वास्थ्य अवस्थालाई बेवास्ता गर्दै उनलाई संगठन विभाग प्रमुखबाट हटाउने काम गलत भएको बताएकी थिइन्। उनले आफूलाई लक्षित गर्दै लिङ्देनले विगतमा दिएको अभिव्यक्तिको पनि पुनः स्मरण गरिन्।

उनले भनिन्, ‘म बच्चा जन्माउन अमेरिका गएका बेला अध्यक्ष लिङ्देनबाट आएको अभिव्यक्ति दुःखद थियो। तर मैले यसलाई मनमा लिएको छैन।’ गत वर्ष लिङ्देनले नाम नलिईकन एक ‘चर्चित कलाकार’को अमेरिकामा बच्चा जन्माउने निर्णयमाथि टिप्पणी गरेका थिए।

सरकारमा सहभागी भएको विषयले किचलो

लिङ्देनमाथि राणा पक्षधर नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा गएको विषयमा जबाफ खोजेका थिए। राणाले त सरकारमा गएपछि नै पार्टी मत घटेको प्रतिवेदनमै लेखेका थिए।
‘सार्वजनिक प्रतिबद्धता र जनअपेक्षा प्रतिकूल ३ माघ २०७९ मा प्रचण्ड सरकारमा सामेल भएपछि पार्टीप्रतिको आकर्षण ओरालो लागेको हो, त्यो क्रम हालसम्म जारी छ’, राणाले प्रतिवेदनमा लेखेका छन्।

उनले प्रचण्ड सरकारमा गएपछि सिर्जित विश्वासको खाडल अझै कायम रहेको बताए। लिङ्देन पक्षधर सहमहामन्त्री बुढाले महामन्त्री आफैँ सरकारमा जान तम्सिएको आरोप लगाएका थिए। उनले प्रचण्ड नेतृत्वको सरकारमा गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम मस्यौदा बनाउन राणा नै गएको आरोप लगाए।

अनि लिङ्देनले भने : प्रधानमन्त्री पाए पनि सरकारमा जान्नँ

पार्टीभित्र तिक्तता बढेपछि लिङ्देन रक्षात्मक भए। उनलाई बैठकमा आफ्नो प्रतिवेदन पारित गर्नै सकस परेको थियो। यद्यपि पारित भए। राप्रपाभित्रको शक्ति सन्तुलनको मारमा लिङ्देन परेका थिए।

‘बैठकमा लिङ्देनले प्रतिवेदन प्रस्तुत गरेनन्,’ एक नेताले भने, ‘राणाले जे लगे, त्यो पारित भयो।’ ती नेताका अनुसार लिङ्देन कमजोर भएको महसुस गरेर सरकारमा नजाने आश्वासन दिएका हुन्। लिङ्देन पक्षधर नेता भने राणा पक्षधर कमजोर बनेको दाबी गर्छन्।

‘बैठक उद्देश्यविहीन’

केन्द्रीय कार्य सम्पादन समिति सदस्य सिंहले तीनदिने बैठक उद्देश्यविहीन देखिएको बताएका  थिए। उनले बैठकमा भनेका थिए, ‘बैठकमा केन्द्रीय समितिका सदस्यज्यूहरू र पदाधिकारीज्यूहरू थाङ्ने गफ र झिनामसिना कुरामा मात्रै लटपटिरहेको मैले देखेको छु।’ बैठक कुन उद्देश्यले बोलाइएको र आआफ्नो क्षेत्रमा के सन्देश लैजाने भन्ने प्रश्न पनि उनले गरेका छन्। उनले भने, ‘त्यतातिर कसैको चासो गएको छैन। मलाई त यो बैठक नातिनीले हजुरबासँग ललिपप मागेजस्तै महसुस भयो।’ उनले पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए।

प्रकाशित: १५ माघ २०८१ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast