काठमाडौँ- संसारले जनवरी २७ लाई होलोकस्ट (नरसंहार) को सम्झनामा अन्तर्राष्ट्रिय स्मरण दिवस मनाउँदै आएको छ। राष्ट्रसंघको महासभाले २० वर्षअघि यस दिनलाई होलोकास्टको सम्झानमा मनाउने र अब विश्वमा यो दिन देख्न नपरोस भनेर आधिकारिकता दिएको थियो। त्यस दिन राष्ट्रसंघको भवनमा नै ६० औँ स्मृति दिवस समेत मनाइएको थियो।
हरेक वर्ष झैँ यस वर्ष पनि द्वितीय विश्वयुद्धको अवधिमा ६० लाखभन्दा बढी यहुदी (जुज)हरूको नरसंहार भएको स्मृतिमा काठमाडौँस्थित इजरायली राजदूतको निवासमा जर्मन दूतावासको सहकार्यमा ‘असविट्ज- ए प्लेस अन अर्थ’ शीर्षकमा एक स्मरण कार्यक्रम र प्रदर्शनी आयोजना अन्तर्राष्ट्रिय स्मृति दिवस मनाएको हो।
निर्मम र योजनाबद्ध रूपमा हिट्लरबाट हत्या गरिएका ६० लाख यहूदी जनताको सम्झनामा ६ वटा मैनबत्ती बालिएको थियो। ६ जना अतिथिहरूले प्रति १० लाख मृतकहरूको स्मरणमा एउटाका दरले ६ वटा मैनबत्ती बालेका थिए। त्यसबाट बाँचेकाको एक नागरिकको तत्कालीन अवस्था दर्शाउने रिपोर्ट पनि देखाइएको थियो। त्यो रिपोर्ट सीएनएनले तयार पारेको थियो। त्यो नरसंहारले अकल्पनीय पीडा र अस्तित्वको खोजीमा जुजहरूलाई आफ्नो भूमि फर्काउने काम पनि गरेको थियो।
‘होलोकास्ट यहूदी जनता वा युरोपको मात्र त्रासदी थिएन। यो मानवताको असफलता पनि थियो। यसले पूर्वाग्रहलाई नियन्त्रण नगर्दा घृणालाई सामान्य बनाउँदा र न्याय नदिँदा के हुन सक्छ भन्ने कुराको स्मरण गराउँछ,’ राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले भने।
सो अवसरमा बोल्दै अमेरिकी राजदूत डीन आर थम्पसनले सेमिटिज्म, जातिवाद र सबै प्रकारका घृणा र असहिष्णुताविरुद्ध उभिन सबैको दायित्व र जिम्मेवारी रहेको बताए। उनले नयाँ अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धिृत गर्दै भने, ‘जसले होलोकास्ट बाँचेकाहरू र उनीहरूका उत्तराधिकारीहरूका लागि आफ्नो अटल समर्थन पुनः पुष्टि गर्छन्, म विश्वस्त छु कि हामी यस्तो विनाशको अवधिलाई सम्झन र सम्मान गर्न एक साझेदार बन्नेछौं,’ हेन्डरजोनले भने।
नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्जका तर्फबाट नियोग उपप्रमुख बेन्जामिन सिडेलले आजको आह्वान एउटा कार्यको रूपमा लिनु पर्ने बताए। ‘होलोकास्ट ग्यास च्याम्बरहरूबाट सुरु भएको थिएन। यो घृणा, विभाजन र अमानवीकरणका शब्दहरूबाट सुरु भयो। गम्भीर वास्तविकताले प्रजातान्त्रिक नागरिकको रूपमा हाम्रो साझा जिम्मेवारी जातिवाद, भेदभाव र सबै प्रकारका भेदभाव विरुद्ध दृढतापूर्वक खडा हुनलाई जोड दिन्छ,’ उनले थपे।
सो अवसरमा इजरायलका राजदूत श्मुलिक एरी बासले मानवताले पीडितको सम्झनामा युवा पुस्तालाई शिक्षा दिनको लागि यो दिन मनाउन आवश्यक रहेको बताए । ‘यस्तो त्रासदीपूर्ण नरसंहार बिर्सन दिनुहुन्न भन्ने अभिप्रायले होलोकस्टमा मारिएकाहरूको सम्झनामा कार्यक्रमहरू गरिँदै आइएको छ,’ उनले थपे।
कार्यक्रममा हिमाली बोर्डिङ स्कुल र प्रज्ञाकुञ्ज विद्यालयका विद्यार्थीहरुले गायन र सांगीतिक प्रस्तुति समेत दिएका थिए।
कार्यक्रममा मानव निर्मित क्रूरताको बारेमा शिक्षा दिन र यस्तो क्रूरता कहिल्यै दोहोर्याउन हुँदैन भन्ने सन्देश दिने उद्देश्यले ‘असविट्ज– ए प्लेस अन अर्थ’ नामक प्रदर्शनी पनि राखिएको थियो। हिमाली बोर्डिङ स्कुलमा माघ २८ देखि फागुन २ र प्रज्ञाकुञ्ज स्कुलमा फागुन ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी खुला रहने पनि जानकारी दिइएको थियो।