काठमाडौँ- भारत र चीनबीच कैलाश मानसरोवर यात्रा आरम्भ गर्न समझदारी भएको छ। भारतका विदेश सचिव विक्रम मिस्री र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार भएको भेटवार्तामा यो सहमति भएको हो।
चीन भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले चिनियाँ विदेशमन्त्री वाङसँग सोमबारट भेटवार्ता गरेका हुन्।
मिस्री र वाङबीच भएको भेटका क्रममा यही वर्षदेखि कैलाश मानसरोवार यात्रा प्रारम्भ गर्ने सहमति बनेको ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत अक्टुबरमा भएको भेटघाटपछि भएको यो भेटवार्ता भारत–चीन सम्बन्धलाई स्थिर र सुदृढ बनाउने उद्देश्यले भएको हो।
‘दुवै पक्ष यो वर्षदेखि कैलाश मानसरोवर यात्रा प्रारम्भ गर्न सहमत भएका छन्। यसका लागि विद्यमान सम्झौताअनुसार सम्बन्धित संयन्त्रले प्रक्रियाहरूको खाका तयार पार्नेछ। दुवै पक्षबीच भारत–चीन विज्ञस्तरीय संयन्त्रको बैठक गर्ने सहमति भएको छ, जसमा जलविद्युतका साथै सीमा क्षेत्रका नदीसँग सम्बन्धित अन्य सहयोगबारे छलफल हुनेछ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चीनले कोभिडका कारण सन् २०२० देखि कैलाश मानसरोवर यात्रामा रोक लगाएको थियो। चीनले सन् २०२३ मा भारतीय नागरिकबाहेकलाई पुनः यात्राका अनुमति दिएको थियो।
कोभिडअघि नेपाली र भारतीय गरी करिब २० हजार पर्यटकले नेपाल हुँदै कैलाश मानसरोवर यात्रा गरेका थिए। अधिकांश पर्यटकहरू नेपालगञ्जबाट हिल्सा र त्यसपछि तिब्बतको टक्लाकोटबाट मानसरोबरसम्म पुग्ने गरेका छन्। त्यस्तै रसुवाको केरुङबाट पनि कैलाश मानसरोवरसम्म पुग्ने गरिन्छ।
कैलाश मानसरोबार यात्राका लागि मेदेखि सेप्टेम्बरसम्म उपयुक्त ठानिन्छ।