पाथीभरामा केबलकार निर्माण : स्थानीयलाई निषेध गर्दा चुलियो विवाद

विवेक विवश रेग्मी १४ माघ २०८१ १६:१७
560
SHARES
पाथीभरामा केबलकार निर्माण : स्थानीयलाई निषेध गर्दा चुलियो विवाद ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा गत शनिबार भएको विवादपछि स्थिति नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी। तस्बिर : सामाजिक सञ्जाल

इटहरी- ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा रहेको पाथीभरा क्षेत्रमा शनिबार गोली चल्यो। घटनामा २१ जना सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहका पाँचजना घाइते भए। अधिकांश घाइते अस्पतालबाट घर फर्किए पनि गम्भीर तीनजनाको काठमाडौँमा उपचार भइरहेको छ। झडप ‘नो केबलकार समूह’ र स्थानीय बासिन्दाबीच भएको थियो। त्यही क्रममा प्रहरीमाथि पनि ढुंगा प्रहार भएको थियो। स्थानीय बासिन्दाले लामो समयदेखि केबलकार निर्माणको विरोधमा आन्दोलन गर्दै आएका छन्।

पाथीभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको छ। उनीहरू केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने बताउँछन्। यसका लागि स्थानीय रूपमा गठित विभिन्न संघसंस्था सक्रिय छन्।  शनिबार काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भयो।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिलगायत संघसंस्था छन्।

केबलकार निर्माणका विषयमा विवाद हुँदा शनिबार भएको झडप पहिलो होइन। यसअघि कात्तिक २३ गते शिलान्यासका क्रममा फुङलिङ- ४ मा झडप हुँदा स्थानीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिकाका-४ का कुमार शेर्पा घाइते भएका थिए। पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दुरीमा केबलकार बनाउने तयारी छ। केबलकार निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ। पाथीभरा केबलकार प्रालिले १३ महिनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने तयारीमा थियो।

स्थानीय बासिन्दा सरकारले केबलकार निर्माणका लागि अनुमति दिएदेखि नै विरोध गरे पनि सुनुवाइ नभएको बताउँछन्। केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू भन्छन्, ‘केबलकारको कुरा उठिसकेपछि आवाज उठायौँ। २०७४ सालदेखि नै हामी विरोधमा छौँ। आन्दोलन गरिरहेका छौँ।’ यसअघि संघर्ष समितिले पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो।

माग र विरोध

जानकारहरूका अनुसार स्थानीयको पहिलो माग पाथीभरामा केबलकार बनाउनु हुँदैन भन्ने छ। बनाइहाले पनि मन्दिरसम्म लैजान नहुने उनीहरूको अर्को माग रहेको एमाले कोशी प्रदेशका उपनेता तिलकुमार मेन्याङवो बताउँछन्। यसैगरी केही व्यक्तिले सस्तोमा जग्गा बेचेर महँगोमा कम्पनीलाई बेच्दा स्थानीय मर्कामा परेको गुनासो आएको उनले जानकारी दिए।  जग्गा खरिद प्रक्रियादेखि नै बिचौलिया प्रवेश गरेको आरोप उनीहरूको छ।

केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू तत्कालीन पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बडुवाल, सरिता लिम्बूलगायतले ५९ रोपनी १५ आना जग्गा सस्तोमा किनेर महँगोमा बेचेपछि विरोध सुरु भएको बताउँछन्। उनले भने, ‘त्यो जग्गा कटवाल र लिम्बूले दुईपटक गरी २९ करोड ८५ बढीमा बेचेका रहेछन्। यसले पनि स्थानीय बासिन्दालाई विरोधमा उत्रन बाध्य बनाएको हो।’

झापा निवासी कटवालको निधन भइसकेको छ। जग्गा खरिदमै ठूलो घोटाला भएकोले आफूहरूले विरोधका कार्यक्रम गरिरहेको फेम्बू बताउँछन्। उनले भने, ‘एउटा जग्गा खरिद गरी यत्रो घोटाला हुन्छ, केलबकारमा के हुन्छ? २०८० पुसदेखि ६ महिनासम्म त्यस क्षेत्रमा दैनिक नियालिरह्यौँ तर हाम्रो आवाज सुनुवाइ भएन।’

शनिबार के भएको थियो?

केबलकारको स्थानीय पूर्वाधार निर्माणका लागि ठेक्का पाएको हिमालयन कन्स्ट्रक्सन प्रालिले केबलकारको बेस स्टेसन निर्माणका लागि जमिन सम्याउने कार्य थालनी गरेपछि केबलकार खारेजीको आन्दोलनरत पक्षमा रहेकाहरू पाथीभरा क्षेत्रमा आन्दोलनमा उत्रिएका थिए। बलुडाँडामा शनिबार दुईपटक भएको झडपमा २६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। तीमध्ये तीनजना गम्भीर छन्। २१ जना सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहका पाँचजना घाइते भएका थिए।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङको घटनामा दुईजनालाई प्रहरीले चलाएको गोली लागेको बताए। उनका अनुसार अर्का एकजना भागदौड हुँदा घाइते भएका थिए।  भण्डारीले २१ जना प्रहरी घाइते भएकामध्ये ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनले भने, ‘तीनजनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमा काठमाडौँ पठाइएको छ।’

गम्भीर घाइते हुनेमा तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ-५ का सगुन लावती र फुङलिङ ८ दोखुका धर्मेन्द्र पालुङ्वा छन्। लावतीको खुट्टामा र लिम्बूको कोखमा प्रहरीको गोली लागेको छ। पालुङ्वाको कुममा चोट लागेको छ।

‘शनिबार हाम्रा साथीहरू बसिराखेको ठाउँमा सशस्त्र प्रहरी पुगेर हातपात गर्ने, खानेकुरा खोसेर फ्यालिदिने काम गरे। ७० वर्ष पुगेका मानिसमाथि पनि अभद्र व्यवहार भयो,’ फेम्बूले हिमालप्रेससँग भने, ‘दिउँसो ३ बजेतिर अचानक हाम्रा साथीमाथि राज्य सत्ताले पाखुरामा हान्यो। प्रतिकार गर्दा अश्रुग्यास र हवाई फायर भयो।’ उनका अनुसार साँझ ६ बजेतिर पुनः स्थानीय समुदाय बसेकै ठाउँमा प्रहरी, प्रशासन पुगेर वार्तामा बस्ने भन्दै बसेको ठाउँबाट बाहिर निकालेर हातपात गरेको थियो।

‘बसिराखेको ठाउँबाट बाहिर निकालेपछि उभ्याइयो। अनि प्रहरीमाथि हातपात गर्ने यिनीहरू नै हुन् भन्दै कुटपिट गर्ने र भ्रम सिर्जना गरिएको छ। जे कुरा बाहिर आइराखेको छ, त्यो यथार्थ छैन। पछि प्रतिकार गर्दा गोली हान्यो,’ फेम्बूले भने, ‘जुन धार्मिक आस्था र विश्वास छ। त्यसैलाई संरक्षण गर्नुपर्छ भन्दा राज्य सत्ताले गोली प्रहार गर्‍यो।’

सिंगो मुक्कुम्लुङबासीले असहमति जनाउँदा राज्यले स्थानीयको आवाजलाई दबाएको उनले बताए। संविधान र अन्तर्राष्ट्रिय कानुनले दिएको अधिकार प्रयोग गरिएको भए पनि स्थानीयबासीलाई भने निषेधित गरिएको उनको जिकिर छ। ‘जहाँ केबलकार बन्ने भनिएको छ, त्यहाँ स्थानीयलाई निषेध गरिएको छ। केबलकार बनाउने समूहचाहिँ सुरक्षाको घेरामा छ,’ उनी भन्छन्।

कोशी प्रदेशसभामा चासो, आन्दोलनकारी थप आक्रोशित

ताप्लेजुङमा शनिबार भएको घटनाबारे आइतबारको कोशी प्रदेशसभा बैठकमा समेत कुरा उठेको छ। एक व्यक्तिका पक्षमा राज्य सत्ता उभिएर फरक मत राख्नेमाथि गोली प्रहार गरेको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन्। प्रतिपक्षी  माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले केबलकार निर्माणको काम रोक्न माग गरेका छन्।

विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले व्यापारी रिझाउन जनतालाई गोली हान्न नमिल्ने बताए। ‘व्यापारीलाई रिझाउन जनतालाई गोली चलाउने र जनता मार्ने काम सरकारबाट तुरुन्त बन्द हुनुपर्छ,’ उनले भने। संवादमार्फत मात्रै बाँकी काम अगाडि बढाउन उनले ध्यानाकर्षण गराएका छन्। आङ्बोले भने, ‘शान्तिपूर्ण विरोध गर्दा राज्य आतंक र दमन भएको छ।’

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कमलप्रसाद जबेगूले प्रहरीले खाना खाइरहेका मानिसलाई आक्रमण गरेको आरोप लगाए। किराँत धार्मिक स्थल मुकुम्लुङ क्षेत्रमा प्राकृतिक अवस्थामै छाड्नुपर्ने उनको सुझाव छ। जबेगूले भने, ‘हाम्रो पहिचानको धरोहर नढालौँ। नभत्काऔँ। संरक्षण गरौँ। जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहोस् भन्ने चाहना हो,’ उनले भने।

जबाफमा मन्त्री भण्डारीले आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि २० सेल अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको बताए। उनले भने, ‘आत्मसुरक्षाका लागि केही नगर्ने हो भने प्रहरीतर्फ ठूलो क्षति हुने परिस्थिति सिर्जना भइसकेपछि आत्मरक्षाका लागि हवाई फायर भयो।’

प्रदेशसभामा सांसदहरू प्रदीपकुमार सुनुवार, शमशेर राई, गोविन्द गिरी, सविना बजगाईं, बिदुकुमार लिङ्थेपले पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधान गर्न माग गरेका छन्।

यसैगरी मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका समितिले मंगलबारदेखि यातायातसमेत बन्द गर्ने चेतावनी दिएका छन्। आइतबार विज्ञप्ति जारी गरी मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्द गरिने चेतावनी दिइएको हो।

केबलकार खारेजी संयुक्त संरक्षण समितिका संयोजक खगेन्द्र फेम्बूले राज्य सत्ताको हस्तक्षेप बढेको बताए। उनले आफूहरूलाई बन्दहडताल गर्न मन नभए पनि राज्य सत्ताको ज्यादतीविरुद्ध बन्द गर्न बाध्य भएको बताए। ‘हामीमाथि जहिल्यै पनि हस्तक्षेप भएको छ। राज्यले जहिल्यै बाध्यात्मक अवस्था सिर्जना गर्ने र शान्तिपूर्ण विरोध गर्दा दमन भएको छ,’ उनले भने, ‘सरकार निरंकुश भयो। अब यातायात बन्दसँगै सशक्त रूपमा आन्दोलन अगाडि बढ्छ।’

फेम्बूले सरकारले यस क्षेत्रमा केबलकार बनाउने निर्णय फिर्ता लिनुपर्ने बताए। अन्यथा केबलकार निर्माण नहटेसम्म निरन्तर आन्दोलन जारी रहने चेतावनी उनले दिएका छन्।

‘धरोहरमाथि हस्तक्षेप भयो’

आममानिसको आस्थाको धरोहरमाथि हस्तक्षेप भइरहेको स्थानीय बासिन्दाको तर्क छ। सांस्कृतिक आस्थाको धरोहरमाथि हस्तक्षेप भएकाले ०७४ सालदेखि नै आफूहरूले विरोध जनाउँदै आएको उनले फेम्बूले  बताए। स्थानीयको चाहनाविपरीत राज्यसत्ताले प्रहरी, प्रशासनको दुरुपयोग गरेको फेम्बूको आरोप छ। ठेकेदार भनिएकाहरूले नै स्थानीय मानिसमाथि हातपात गरेको उनको दाबी छ।

दुई वर्षयता समुदाय परिचालन भएर केबलकार बन्नुहुँदैन भनेर लागेको जानकारी उनले दिए। फेम्बूले भने, ‘पवित्र स्थल संरक्षण गर्ने कुरामा कुनै अप्रिय र दुर्घटना चाहँदैनौँ। पवित्र शक्तिपीठलाई व्यापारिक केन्द्र बनाउनुहुँदैन भन्ने हाम्रो माग हो।’ केबलकार निर्माणका क्रममा हजारौँ वनस्पति मासिने र लोपोन्मुख वनस्पतिसमेत विनाश भइरहेकोमा उनको चिन्ता छ।

पाथीभरा क्षेत्रमा लालीगुराँससहित लोठसल्ला, गोब्रे सल्ला, चाँपका विभिन्न प्रजातिसहित रेडपान्डा (हाब्रे) को बसोबास छ। लोपोन्मुख वन्यजन्तु कस्तुरीमृगसमेत यस क्षेत्रमा पाइने भएकाले केबलकार बनेपछि मासिँदै जाने स्थानीयको चिन्ता छ। ‘विकासका नाममा विनाश गर्नुहुँदैन। वनस्पति र वन्यजन्तुको बासस्थानमा प्रतिकूल असर पर्छ,’ फेम्बूले भने, ‘केही समयअघिसम्म रेडपान्डा गाउँघर आसपास देखिन्थ्यो। गाडीको आवाज आएपछि देखिँदैन।’

फेम्बूले धार्मिक स्थलको मात्र नभई प्रकृतिको विनाश भइरहेको बताए। ‘स्थानीयबासीको रोजीरोटीको पनि विनाश हुँदैछ। त्यसो भएको हुनाले प्राकृतिक स्रोतसाधनको पनि संरक्षण गर्नुपर्छ,’ फेम्बूले थपे। उनले लिम्बू समुदायको मुन्दुम मुक्कुमलुङ, फक्ताङलुङ, सेसेलुङ, सेवालुङलगायत रहेको स्मरण गर्दै यो क्षेत्र आमसमुदायको आस्थाको धरोहर रहेकाले त्यसका निम्ति संरक्षणको माग राखिएको बताए।

‘पृथ्वीको उत्पत्ति र मानव सृष्टि यहीँबाट भयो भन्ने धार्मिक आस्था र विश्वास छ। जहाँबाट मान्छे उत्पत्ति भयो, त्यहाँ संकट पर्‍यो भने के हुन्छ? शक्तिपीठको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनी भन्छन्, ‘यो ठाउँमा लिम्बू समुदाय बसोबास गरेकाले हाम्रो मात्रै माग हो भन्ने होइन, आममानिसले यसलाई संरक्षण गर्नुपर्छ।’

पाथीभरा पुग्नका निम्ति ठूलो फेदीदेखि पूजा गर्दै, धागो बान्दै जानुपर्ने र ठूलो फेदीमा शक्ति नमागीकन माथि गएमात्र आफूले चाहेको कुरा पूरा हुने विश्वास छ। फेम्बूले केबलकार बनेमा यस्ता सबै प्रक्रिया अवरुद्ध हुने बताए। ‘धागो टाँग्नुको अर्थ लिम्बू समुदायको मुन्दुमसँग सम्बन्धित छ। धागो टाँगेर पूजा गर्दै गयो भने दीर्घायु हुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘त्यसकारण पनि केबलकारबाट एकैपटक माथि जानुहुँदैन भन्ने हो।’

अशक्तका लागि हो भने आधुनिक ह्विल चियरको व्यवस्था गर्न सकिने उनले सुझाव दिए। ताप्लेजुङको भविष्य हो भनेर आफूहरूमाथि विकास विरोधी भनेर आरोप लगाइएकोमा उनको असन्तुष्टि छ। फेम्बूले भने, ‘यो विकास होइन, विनाश हो।’

प्रदेश सरकारले बनायो वार्ता समिति

कोशी प्रदेश सरकारले रामबहादुर राना मगरको संयोजकत्वमा वार्ता समिति बनाएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुनमन्त्री रेवतीरमण भण्डारीले वार्ता समिति बनाइएकाले छलफलका लागि आह्वान गरिएको बताए। ‘कुनै पनि कुरामा विमति छ भने छलफलद्वारा समाधान गर्नुपर्छ। हामीले प्रदेश सरकारका तर्फबाट छलफलका लागि आह्वान गरेका छौँ,’ उनले भने, ‘कुनै पनि निर्माणका काममा बाधा गर्दै जाने भए कसरी विकास हुन्छ? निर्माण कार्य रोक्नु राम्रो होइन।’

पाथीभरामा केबलकार बन्दा स्थानीयको आम्दानीसमेत बढ्ने उनको भनाइ छ। ‘कुनै वनस्पति वा संरक्षण गर्नुपर्ने कुरा छन् भने वार्तामार्फत छलफल गरौँ,’ उनले भने, ‘अस्तिको घटनामा भने प्रहरीमाथि नै सांघाितक आक्रमण भएकाले आत्मरक्षाका निम्ति प्रहरीले आफ्नो कदम चालेको हो।’

विरोधका नाममा विभिन्न जिल्लाबाट मानिसहरू भेला हुने र प्रहरीलाई आक्रमण गर्न खोजिएको उनको जिकिर छ। ‘एक सय बढी लाठी, तीन थान खुकुरी र केही थान गुलेली प्रहरीले बरामद गरेको छ। अचानक ढुंगा प्रहार गरी आक्रमण गरियो। प्रहरीले आत्मसुरक्षाका लागि प्रतिकार गरेको हो,’ भण्डारीले भने।

निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले पाथीभरा केबलकार एउटा कम्पनीको मात्र नभएर समग्र ताप्लेजुङको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र ताप्लेजुङ तथा पूर्वी क्षेत्रको आर्थिक समृद्धिको कोसेढुंगा बन्ने बताए। पाथीभरा केबलकार प्रालि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी हो।

दलका नेता भन्छन्, स्थानीयको सहमति लिएर मात्रै अघि बढौँ

कांग्रेस नेता एवम् कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले स्थानीयको सहमतिका आधारमा मात्रै केबलकार निर्माण गर्नुपर्ने बताए। उनले भने, ‘हामी केबलकार निर्माणमा स्थानीयको मागलाई सम्बोधन गर्नुपर्ने पक्षमा छौँ। स्थानीयले रुचाउँदैनन् भने जबर्जस्ती गर्नु हुँदैन।’

विपक्षमा उभिएका स्थानीय बासिन्दालाई प्रहरीले जबरजस्ती गोली चलाएको हो भने अनुसन्धान गरेर कारबाही गर्नुपर्ने माग उनको छ। कांग्रेसले ताप्लेजुङका नेताहरू केशवप्रसाद दाहाल र मीना गुरुङलाई घटनाको अध्ययन गरेर यथार्थ जाकारी दिन जिम्मेवारी दिएको थापाले बताए।

एमालेका नेता एवम् प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङवोले पनि पनि दुवै पक्ष संयमित नहुँदा शनिबारको घटना भएको बताए। उनले भने, ‘दुवै पक्ष संयमित देखिएनन्। विकास निर्माणका हिसाबले पाथीभारामा केबुलकार बनाउन अत्यन्त आवश्यक छ।’ स्थानीयका माग पूरा गरेर मात्र विकास निर्माणको गतिविधि अघि बढाउनुपर्ने उनको सुझाव छ।

प्रकाशित: १४ माघ २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast