भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताएका छन्। सानोठिमीस्थित एसओएस स्कुलले आइतबार आफ्नै प्राङ्गणमा आयोजना गरेको ‘स्पोर्टस् मिट–२०८१’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा नीति परिवर्तन गरेर रोजगारमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताए।
उनले भने,‘देशको व्यवस्था बदलियो, राजनीति बदलियो, नेता बदलिए तर शिक्षा नीति बदलिएन। २०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको छ। अहिले हातमा सीप भएको प्राविधिक, सीपमूलक र जीवनोपयोगी शिक्षाको आवश्यकता छ। एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप लिएर आत्मनिर्भर हुनसक्ने शिक्षा नीति जरुरी छ।’ अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पास गरेर प्रतिनिधिसभामा पठाएको उनले बताए।
समावेशी र गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले समाजमा पछि परेका, हेपिएका सबै वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउँदै अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीनजस्ता देशहरुको शिक्षा र सीपसँग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औँल्याए।
अचेल मन्त्रालयमा गाउँगाउँबाट टेलिफोन चाहियो, टेलिफोनको टावर बनाउन पर्यो भनेर आउने गरेका उल्लेख गर्दै उनले देशभर फोरजीको इन्टरनेटसहितको टेलिफोन पुर्याउने गरी काम गरिररहेको बताए। सरकारले सबै कार्यालयमा विद्युतीय सुशासन कायम गर्ने गरी फाइबर लाइन विस्तार गरिरहेको भन्दै सञ्चारमन्त्री गुरुङले सबै सरकारी कार्यालय एवं वडातहसम्म इगभर्नेन्स लागूगर्ने बताए।
सञ्चारमन्त्री गुरुङले विश्व आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को जमानामा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपाल पनि एआई प्रविधिका प्रवेश गर्दै विकासमा अगाडि बढ्नुपर्ने बताए।
उनले एआईको कृत्रिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादनमा वृद्धि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। अहिलेका विद्यार्थीले सूचना प्रविधि पढेर घरमै बसेर लाखाैँ रुपैयाँ कमाउन सक्ने भएको भन्दै सूचना प्रविधिको भविष्य उज्ज्वल रहेकाले यसतर्फ विद्याथीको चासो हुनुपर्ने बताए।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईंलगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकपालमा पनि दक्ष र योग्य बनाउनुपर्नेमा जोड दिए।